संखुवासभा, अरुण तेस्रोको पावरहाउस दिदिङबाट प्रहरीले मेस ठेकेदारसहित तीन जनालाई पक्राउ गरेको छ। रकम लुटपाट गर्न खोजेको आरोपमा मेस ठेकेदार राजु प्रधान, रवीन श्रेष्ठ र बोलेरो चालक एक जनालाई पक्राउ गरेको स्रोतको भनार्इ छ। बुधबार साँझ सदरमुकाम खाँदबारीबाट पैसा बोकेर जाँदै गरेको गाडीमा हतियार देखाएर रकम लुट्न खोजेको आरोपमा दिदिङको केराबारीबाट तीन जनाई पक्राउ गरेको थियो ।
अरुण तेस्रोको पावर हाउसमा काम गरिरहेको पटेल इन्जिनियरिङले कम्पनीको पैसा लिएर जाँदै गरेको गाडी रोकेर खुकुरी देखाएर पैसा लुट्न खोजेको आरोपमा उनीहरूलाई प्रहरीले घटना स्थलबाटै पक्राउ गरेको हो । घटना भएको तीन दिन बित्दा समेत प्रहरीले यसबारेमा जानकारी दिएको छैन। घटनाको जानकारी लिन खोज्दा प्रहरी कार्यालयका प्रमुख मिम लामाले फोन उठाएका छैनन् ।
अरुण तेस्रोमा विभिन्न घटना घटे पनि प्रहरीले हरेक घटनालाई लुकाएर भित्रभित्रै मिलाउने गरेको स्रोतको भनाइ छ। तर, घटनाका जानकार मेस ठेकेदारले काम गरेको रकम पटकपटक माग गर्दासमेत नदिएपछि रिसको झोकमा हतियार देखाएको हुन सक्ने बताएका छन्। ठेकेदार राजुले पटेल इन्जिनियरिङसँग १५ लाख बढी रकम भुक्तानी नपाएको स्रोतको भनाइ छ।
आधा दर्जन बढीले पाएनन् भुक्तानी
अरुण तेस्रोमा काम गरेका ६ जना बढी ठेकेदारले निमार्ण सम्पन्न गरिसके पनि भुक्तानी पाएका छैनन्। उनीहरूले तुम्लिङटारस्थित सतलज कम्पनीको कार्यालयमा घेराउ गरेका छन् । निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको सात महिना बित्दासमेत भुक्तानी नपाएको ब्राइटमल्टी कन्ट्रक्सन कम्पनी काठमाडौंले जनाएको छ।
उनीहरूले कर्मचारी आवासका लागि १ करोड ५० लाखमा तीन महिनामा सम्पन्न गर्ने सम्झौता गरेका थिए। ब्राइटमल्टी कन्ट्रक्सनले भवन निमार्ण सकेर ६ महिनाअघि जिम्मा लगाएको भएपनि भुक्तानी नपाएको बताए। त्यस्तै, नुम निमार्ण सेवाले समेत काम सकाएर जिम्मा लगाएको भए पनि भुक्तानी नदिएको गुनासो गरे।
थाहा खबरबाट









