संखुवासभा, संखुवासभाको मकालु गाउँपालिकामा भारतीय शतलज कम्पनीले निर्माण गरिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ । उक्त स्थानमा छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट समेत पर्यटकहरू मकालु गाउँपालिकाको नुम दोभानमा रहेको परियोजना निर्माण स्थल आउन थालेका छन् ।
परियोजना निर्माण स्थल नुमको फ्याक्सिन्दामा अहिले सडक निर्माण, टनेल, जलाशयलगायत आवास निर्माणका कार्यहरू द्रुत गतिमा अगाडि बढिरहेको छ । अरुण तेस्रो परियोजनाको २५ प्रतिशत काम सम्पन्न भैसकेको निर्माण कम्पनी सतलजले जनाएको छ । अरुण तेस्रो परियोजना निर्माणस्थलको भ्रमण गर्दा विश्वको पाँचौं अग्लो हिमशिखर मकालु हिमालको मनोरम दृश्यसहित विभिन्न प्राकृतिक छटाहरूको समेत दृश्यावलोकन गर्न पाइने भएका कारण पनि त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको पर्यटन क्षेत्रमा संलग्न मनबहादुर लिम्बूको भनाइ छ ।
खाँदबारीबाट निर्माण स्थल फ्याक्सिन्दा सम्मको यात्राको क्रममा मानेभञ्ज्यांङ्ग, चिचिला गाउँपालीकाको चिचिला बजार, छ्याँङ्कुटी मकालु गाउँपालीकाको नुम बजार प्राकृतिक दृश्यावलोकन र वातावरणीय हिसावले प्रख्यात रहँदै आएका कारण पनि त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको चिचिला गाउँपालीकाको कार्यपालिका सदस्य राजेन्द्र घले बताउँछन् ।
अहिले सदरमुकाम खाँदबारीबाट दैनिक रूपमा दर्जनौंको संख्यामा सवारी साधनहरू चल्न थालेपछि अवलोकनका लागि आन्तरिक तथा बाह्य बिभिन्न शैक्षिक, सामूहिक तथा पारिवारी भ्रमण गर्नेहरूको संख्या बढेकाले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राईले बताइन् ।
सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरीमा पर्ने नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो निर्माण स्थलमा अहिले सवारी साधनमार्फत ३ घण्टामै पुग्न सकिन्छ । चिसो हावापानी, प्राकृतिक विविधतासहित मकालु हिमालको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने गरेको स्थानीय युवा विमन पराजुलीको भनाइ छ ।
सवारी साधनका कारण यात्रा सहज भएकाले अवलोकन कर्ताहरूको संख्यामा वृद्धि भएको भन्दै पराजुलीले त्यस क्षेत्रमा पर्यटकलाई लक्षित गरी होटल ब्यवस्थापनमा जोड दिनुपर्ने औंल्याए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय संस्कृति संरक्षणलगायत अर्गानिक उत्पादन र ठाउँ–ठाउँमा व्यवस्थित होम स्टे सञ्चालनका लागि मकालु गाउँपालिकाले स्थानीयलाई प्रोत्साहन गर्ने नीति लिएको नवनिर्वाचित गाउँपालिका अध्यक्ष तेजबहादेर पोख्रेलले जानकारी दिए ।
अहिले सैयौंको संख्यामा निजी सवारी साधन लिएरै धरान विराटनगर, काठमाडौंलगायतका जिल्लाबाट समेत पारिवारिक भ्रमणका निम्ति पर्यटकहरू आउने गरेका छन् । नेपाल भ्रमण बर्ष २०२० लाई सार्थक पार्न बिभिन्न पार्क तथा रमणीय स्थानहरू निर्माण गर्ने कार्यअन्तरगत भ्यूटावर, बुद्धको मूर्ति स्थापना र होम स्टे सञ्चालन गर्न पहल थालिएको चिचिला गाउँपालीकाका अध्यक्ष पासाङ शेर्पाले बताए ।
सवारी साधनको सहज पहुँच सहज भएकाले देशका अन्य जिल्लाहरूबाट समेत अहिले निर्माणाधिन परियोजना अवलोकनका लागि बाह्यपर्यटकहरू आउन थालेपछि नुम, चिचिला, मानेभन्ज्याङ, नयाँबजार, खाँदबारी र तुम्लिङटार सम्मको ब्यापार तथा होटल ब्यवसाय र सवारी साधन धनीहरूको आर्थिक स्तरमा सकारात्मक प्रभाव परेको संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यले बताए ।
अहिले परियोजना निर्माण भैरहेको त्यस क्षेत्रमा उत्पादीत बस्तुहरूको बजारीकरणमा समेत सकारात्मक प्रभाव परेको छ । ठूलो संख्यामा कामदार र निर्माण कार्यमा संलग्न कर्मचारी, मजदुर र पर्यटकको संख्यामा वृद्धि हुँदा स्थानीय उत्पादनहरूको खपत र बजारीकरण, जीवीकोपार्जनमा सहजता आएको मानेभन्ज्याङका व्यापारी राजकुमार श्रेष्ठ बताउँछन् । अरुण तेस्रो परियोजना निर्माण स्थल नुमको फ्याक्सिन्दासम्म जाने धुले सडकको स्तरोन्नती हुन सके पर्यटन व्यवसायमार्फत नै त्यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने ब्यवसायी श्रेष्ठको भनाइ छ ।
स्थानीय कृषिउपजको व्यावसायिक उत्पादनमा जोड दिन सकिए बिदेश पलायन भइरहेका युवाहरूलाई गाउँमा स्वरोजगार बनाउनुका साथै सिंगो जिल्लाको आर्थिक संबृद्धिमा महत्वपूर्ण योगदान पुग्न सक्ने पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको भनाइ छ ।




