खाँदबारी, दुवै खुट्टा नभएका सञ्चारकर्मी रोषनदिप कुलुङको लागि स्कुटर खरिद गर्न छेलाम सामुदायिक सञ्जालको पहलमा संकलन भएको रकम अभियानका संयोजकलाई हस्तान्तरण गरिएको छ । बिहिबार संखुवासभा सदरमुकाम खाँदबारी स्थीत पत्रकार महासंघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि स्कुटी अभियानका संयोजक सञ्जय देवानलाई रकम हस्तान्तरण गरिएको हो ।

रोजगारीको क्रममा विभिन्न देशमा रहेका नेपालीहरुबाट संकलन भएको ५६ हजार पाँच सय रुपैयाँ छेलाम सामुदायिक सञ्जालका अध्यक्ष कृष्णकुमारी कुलुङले अभियान्ता देवान र रोषन दिपलाई हस्तान्तरण गर्नुभएको हो । घँुडाले घस्रिएर हिड्ने गरेका रोषनदिपको हिडडुलमा सहजता होस भनेर स्कुटरको खरिद अभियान सञ्चालन गरिएको हो ।

एक लाख रुपैयाँ भन्दा पनि बढी रकम संकलन भईसकेपनि केही रकम अपुग भएपछि छेलामले फेसबुक पेज मार्फत सहयोगको अपिल गरेको थियो । उक्त अपिल पश्चात कुलुङ संघ दक्षिण कोरियाका सदस्यहरुले ३१ हजार, खाँदबारी ३ मानेभञ्ज्याङ घर भई हङकङ बस्दै आएका लालबहादुर गुरुङले १० हजार, रमाईलो अनलाईन जिन्दगी ग्रुप एडमिन परिवारले १० हजार र संखुवासभा पाँचखपन घर भई हाल कुवेतमा बस्दै आएका मनकुमार कोईरालाले पाँच हजार पाँच सय रुपैयाँ सहयोग गर्नुभएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा हालसम्म एक लाख २ हजार रुपैयाँ नगद जम्मा भईसकेको र केही प्रतिबद्धता गरिएका रकमहरु संकलन हुन बाँकी रहेको अभियान्ता सञ्जय देवानले बताए । अब स्कुटर खरिदको लागि आवश्यक रकम पुरा भईसकेकोले केही दिन भित्र नै सम्पुर्ण प्रकृया पुरा गरेर खरिद गरि हस्तान्तरण गरिने देवानले बताए । केही काजगी प्रकृया मिलाउन झण्झटिलो हुने भएकोले त्यसको प्रकृया मिलाउने काममा आफुहरु लागिपरेको बताए ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै छेलामका अध्यक्ष कृष्णकुमारी कुलुङले सवै दाताहरुलाई धन्यवाद दिए । फेसबुक पेजमा अपिल गरेकै भरमा छेलामलाई विश्वास गरेर सोचेभन्दा बढी सहयोग रकम संकलन भएको भन्दै उनले धन्यवाद ज्ञापन गरे ।

रोषनदीप कुलुङ सिलिचोङ गाउँपालिका २ बालाका वासिन्दा हुन् । उनी करिव एक दशकदेखि सञ्चार क्षेत्रमा आवद्ध छन् ।

तपाईको प्रतिक्रिया