बेनी, मंगला गाउँपालिका–३ स्थित झाँक्रीपानीमा ‘भ्यू टावर’ निर्माण भएको छ। सुर्योदय, हिमशृंखला र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउने पर्यटकको सुविधाका लागि गाउँपालिकाको सहयोगमा स्थानीयले श्रमदान गरेर तीनतले भ्यू टावर बनाएका हुन्।
१४ मिटर अग्लो टावर बनाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको उपभोक्ता समितिका सचिव कोमल थापाले बताए। ‘उपभोक्ताले सात लाख रुपैयाँ बराबरको श्रमदान गरेका छौं’, थापाले भने, ‘गाउँदेखि टावरसम्म जाने पदमार्ग र प्रतिक्षालय पनि बनेको छ।’
बाहिरी भागमा रेलिङ बनाइएको टावरमा बसेर सुरक्षित र सहज रूपमा बसेर दृष्यावलोकन गर्न सकिन्छ। टावर निर्माण गर्न स्थानीय दलबहादुर र नरमाया छन्त्यालले साढे एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद रोकाले बताए।
टावर परिसरमा एकीकृत सामुदायिक भवन निर्माणाधीन छ। समुन्द्रि सतहदेखि दुई हजार ५७० मिटर उचाइमा अवस्थित झाँक्रीपानीबाट धौलागिरि, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«े रेन्जका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ।
सूर्योदय वरपरका गुराँसको जंगल र त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्तीको दृष्य अर्को आकर्षण हो। बरंजा गाउँको शिरमा रहेको झाँक्रीपानी बेनीदेखि गाडी, तातोपानी र बाबियाचौरदेखि पैदल यात्रा गरेर पुग्न सकिन्छ।
बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने ६ किलोमिटर पदमार्ग निर्माण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। मगर र छन्त्याल समुदायको बसोबास रहेको झाँक्रीपानी गाउँमा होमस्टे ९घरबास० सुरु भएको छ।
झाँक्रीपानीदेखि ऐतिहासिकस्थल चिनाकोत दरबार जोड्ने पदमार्ग बनाइएको छ। चिनाकोत दरबारबाट तत्कालीन बाइसे चौबिसे राजाले राज्य सञ्चालन गरेका थिए। परापूर्वकालमा झाँक्रीका भरियालाई तिर्खा लागेपछि यो डाँडामा आएर लौरो गाड्दा पानीको मूल भेटिएकाले झाँक्रीपानी नाम रहन गएको किम्वदन्ती छ।
झाँक्रीपानी, चिनाकोत क्षेत्रको एकीकृत विकास गरी पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गराउन पूर्वाधार निर्माणमा प्राथमिकता दिएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताइन्।




