संखुवासभा, दशै आईसक्दा पनि सङ्खुवासभामा बजार अनुगमन हुन सकेको छैन । यो वर्षदेखि सम्बन्धीत स्थानीय तहको संयोजकत्वमा बजार अनुगमन गरिने ब्यवस्था भएपनि जिल्लाका मुख्य बजारहरु अझै अनुगमन हुन सकेको छैन । जिल्लाका मुख्य बजारहरु खाँदबारी, चैनपुर, वाना र बाह्रविसे बजार कुनै पनि पनि बजारको स्थलगत अनुगमन हुन सकेको छैन ।
जिल्लाको जेठो खाँदबारी नगरपालिकाले विहिबार मात्र उपप्रमुख डेगश्वरी श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । भर्खरै मात्र गठन गरिएको समितिले केही दिन भित्र नै सदस्य संस्थाहरुलाई बैठक बोलाएर अनुगमन गर्ने नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक डेगेश्वरी श्रेष्ठले जानकारी दिए।
यस्तै चैनपुर बजारमा पनि अहिलेसम्म बजार अनुगमन गर्न सकिएको छैन । बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिईने भनिएपनि कुनै आधिकारिक जानकारी नआएकोले कुनै कार्य योजना बन्न नसकेको नगरपालिकाका मेयर भरतकुमार खत्रीले बताए । म्याद गुज्रेको, अखाद्य जस्ता सामग्रीहरु भटिए कारबाहीको प्रकृया लगायतको विषयमा कुनै आधिकारीक जानकारी माथिल्लो निकायबाट नआएको मेयर खत्रीको भनाई छ ।
दशैको लागि अधिकांशले किनमेल गरिसक्दा पनि सम्बन्धीत निकायबाट बजार अनुगमनमा कुनै चासो नदिएको भन्दै उपभोक्ताहरुले भने गुनासो गर्न थालेको छ । चाडपर्वको बेला बजारको अनुगमन नै नभएपछि सामग्रीको भाउ बढ्ने, म्याद सकिएको सामग्री विक्रि हुनसक्ने सम्भावना अत्याधिक हुने उपभोक्ताहरुको गुनासो छ ।
अन्य समयभन्दा चाडपर्वको बेला बढी सामान विक्रि हुने भएकोले लामो समयदेखि स्टोरमा रहेको सामनहरु पनि विक्रि हुने गरेको खाँदबारी १ का नरेश राईको भनाई छ । यसो हुँदा म्याद सकिएको सामग्रीहरु उपभोक्ताले किन्ने सम्भावना प्रबल रहेको राईको भनाई छ । उपभोक्ताहरुले सवै सामग्रीहरु खरिद गरिसकेपछि अनुगमन गर्नुको कुनै अर्थ नहुने उनले बताए ।









