संखुवासभा, संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. १ विद्युतबाट बञ्चित नगरिकहरुको घर उज्यालो बनाउने अभियानमा लागि परेको छ । वडाको विकासमा विद्युतलाई प्राथमिकतामा राखेर विद्युत विस्तारको काम भइरहेको छ । यहाँ सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत नागेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाले विद्युत विस्तारको काम गरिरहेको छ ।
विद्युतबाट बञ्चित १, २ र ३ नं. वडामा विद्युत प्राधिकरण मार्फत आर्थिक वर्ष २०७३/०७४ मा दुई करोड ३५ लाख रुपैंया बजेट विनियोजन गरिएको थियो । विद्युत विस्तारका क्रममा रकम अपुग भएपछी पाँचखपन नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा वडा नं. १ को साबिक स्याबुन गा.वि.स. वडा नं. ६ मा विद्युत विस्तारका लागि २० लाख रुपैंया बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट सम्पूर्ण कार्य सम्पन्न गरी गत कार्तिक महिनादेखि स्थानीयले विद्युत उपभोग गरिरहेका छन् ।
वडा नं. १ कै साबिक स्याुबन गा.वि.स वडा नं. ७ मा गत वर्ष देखि नै सम्पूर्ण घरधुरीमा विद्युत जडानको काम सम्पन्न भइसकेको छ । लामो समयदेखि विद्युतको पर्खाइमा रहेका स्थानीय खुशी भएको विद्युत विस्तार पाँचखपन नपा १ उपभोक्ता समितिका अध्यक्ष टंक बहादुर बुढाथोकीले बताए ।
यस्तै साबिक वडा नं. ४ र ५ मा २०६३ सालमा स्थापना गरिएको १५ किलोवाट क्षमताको कुसुवा खोला लघु जल विद्युतबाट १ सय ६३ घर परिवार लाभाम्वित छन् ।
ग्रामिण विद्युतीकरण परियोजना अन्तर्गत स्थापना गरिएको लघु जल विद्यूतका लागि तत्कालिन जिल्ला विकास समितिबाट अनुदान रकम १ लाख ८४ हजार ५ सय ५०, ग्रामिण उर्जा विकासबाट अनुदान रकम ११ लाख ८१ हजार २ सय ५०, तत्कालिन स्याबुन गा.वि.स. मार्फत अनुदान रकम २ लाख ९७ हजार, स्थानीय विकास कोषको अनुदान रकम १ लाख ५० हजार, स्थानीय लगानी ५ लाख १८ हजार १ सय र स्थानीयको जनश्रमदान गरी जम्मा २९ लाख ३३ हजार ७ सय ३७ रुपैंया लगानी गरिएको थियो ।
उक्त लघु जलविद्युत सञ्चालन पछी स्थानीय अन्धकार मुक्त छन् । बाँकी घरधुरीमा नगरपालिकाबाट विनियोजित २५ लाख बजेटबाट विद्युत विस्तारको काम भइरहेको छ । उक्त बजेट अनुसार यसै वर्ष विद्युत विस्तारको काम सम्पन्न हुने देखिएको छ । विद्युत विस्तारको काम सम्पन्न पछी वडा नं. १ यसै आर्थिक वर्षमा उज्यालो वडा घोषित हुने वडाध्यक्ष टेक बहादुर बुढाथोकीले बताए ।
पर्यटन विकासका लागि संस्था सञ्चालन
पाँचखपन नगरपालिका वडा नं. १ मा रहेको पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न संस्था स्थापना गरी विकासका काम अघि बढाईरहेको छ । यहाँ रहेको मुख्य पर्यटकीय स्थल घोर्ले झरनाको संरक्षण तथा विकासका लागि घोर्ले झरना पर्यटन विकास केन्द्रको स्थापना गरिएको छ ।
वडाले पर्यटकीय क्षेत्रहरुको पहिचान गरी त्यस्को संरक्षण र सम्वर्दनका लागि योजना छनौंट गरी बजेट विनियोजन गरिरहेको छ । भने यसै वर्ष देउराली भ्यू टावर सिद्धि ढुंगा साउनेचुली संरक्षण समितिको पनि स्थापना गरिएको छ । उक्त समितिले देउरालीमा भ्यूटावर निर्माण गर्ने र सिद्धि ढुंगा साउनेचुलीसम्म पदमार्ग निर्माण गर्ने जनाएको छ ।
उक्त कार्यका लागि यसै आर्थिक वर्षमा वडाबाट २ लाख ५० हजार र नगरपालिकाबाट ५ लाख रुपैंया बजेट विनियोजन गरिएको देउराली भ्यू टावर सिद्धि ढुंगा साउनेचुली संरक्षण समितिका सचिव साङ्गे शेर्पाले बताए ।
यस्तै घोर्ले झरना पर्यटन विकास केन्द्रले घोर्ले झरनाको प्रचारप्रसार, झरनासम्म पुग्ने सडक निर्माण लगायत पुर्वाधार विकासको काम भईरहेको छ । तीन तह भएर बगेको यो झरना १ सय ९१ मिटर अग्लो रहेको छ । धार्मिक आस्था जोडिएको यो झरनाको शिरमा पञ्चकन्या देवीको थान रहेको छ ।
झरनासँग नजिकै रहेको नागेश्वर महादेव गुफाको धार्मिक आस्था पनि जोडिएको छ । किम्बदन्ती अनुसार उक्त झरनामा महादेवले स्नान गरी गुफामा बास बसेको र नागेश्वर महादेव गुफाको उत्पति भएको स्थानीय भिम बहादुर बुढाथोकीले बताए ।
झरनाको संरक्षण र विकासको लागि आर्थिक वर्ष २०७२/०७३ मा सांसद विकास कोषबाट झरनासम्म पग्न सकिने सडक निर्माणका लागि १० लाख रुपैंया बजेट बिनियोजन गरिएको थियो । उक्त रकमले झरना जाने सडकको ट्रयाक ओपन गरिएको थियो । यस्तै २०७३/०७४ मा नगरपालिकाको पहिलो नगरपरिषदले सडक मर्मतका लागि ८ लाख रुपैंया बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारबाट २० लाख र नगरपालिकाबाट ५ लाख रुपैंया बजेट विनियोजन भएको थियो । उक्त रकमले पुर्वाधार विकासका कामहरु भइरहेको छ । घोर्ले झरना पर्यटन विकास केन्द्रका अध्यक्ष दुर्गा निलम श्रेष्ठले बताए ।
जिल्ला तथा नगरपालिकाको पर्यटकिय सम्भावना बोकेको झरना भएपनि प्रचार अभावमा पर्यटकहरु आउन र झरनाको अवलोकन गर्न सकेका छैनन् । झरनासम्म सडक सञ्जालसमेत जोडिएको छ । तर कच्ची सडकका कारण हिउँदका महिनामा मात्र यातायातका साधन आवतजावत गर्ने गरेको छ ।
अङ्ग्रेजी माध्यममा पठनपाठन
सरकारी विद्यालयका विद्यार्थी अंग्रेजी विषयमा कम्जोर भएको भन्दै यहाँका विद्यालयमा अंग्रेजी माध्यमबाट समेत अध्ययन अध्यापन सुरु गरिएको छ । गत शैक्षिक सत्र २०७५ मा शिवोदय निमाविमा नर्शरी देखि कक्षा १ सम्म अंग्रेजी माध्यममा पढाई सुरु गरिएको छ । अंग्रेजी माध्यमबाट विदार्थीमा शैक्षिक सुधार भएको प्रधानाध्यापक स्वागत तामाङले बताए ।
शिक्षा तर्फ वडा भित्र रहेको तीन निमावि र ४ प्राविमा विद्यालय सुधार योजना ल्याएर वडाले काम गरिरहेको छ । यी विद्यालयहरुमा शैक्षिक तथा भौतिक विकासका लागि यहाँका जनप्रतिनिधिहरु एकजुट भएर काम गरिरिहेका छन् ।
वडाध्यक्ष टेक बहादुर बुढाथोकीले व्यक्तिगत खर्चमा कक्षा १ सम्मका सम्पूर्ण विद्यार्थीलाई पुस्तक तथा कापी कलम वितरण गरेर अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन सुरु गरेका हुन् । आफू निर्वाचित भएपछी सरकारबाट उपलब्ध हुने सेवा सुविधा तथा भत्ता जनताको हितमा खर्च गर्ने निर्वाचनताका प्रतिबद्धता अनुसार शैक्षिक उन्नयनका लागि खर्च गरेको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले बताए ।
उनले हालसम्म सरकारबाट उपलब्ध भएका भत्ता आर्थिक संकटमा परेका बिरामीको उपचार, बजेट अभावका कारण रोकिएका सडक निर्माण, खानेपानी लगायतमा खर्च गरेका छन् । यसरी आफूले पाउने भत्ता समेत जनताको सेवामा खर्च गरिरहेका वडाध्यक्षको स्थानीयले खुलेरै प्रसंशा गर्छन् ।
“मज्जाको वडाध्यक्ष”
वडाको विकासमा व्यक्तिगत लगानी गरेर नै भए पनि सेवा सञ्चालन गर्ने वडाध्यक्ष टेक बहादुर बुढाथोकीलाई स्थानीयले मज्जाको वडाध्यक्ष भन्छन । उनले हालसम्म मेसिन प्रयोग गरेर २ वटा सडक (३ किमी) निर्माण तथा मर्मत, ६ जना बिरामीको उपचार, युवाहरुका लागि खेलकुद सामाग्री, विद्यार्थीका लागि शैक्षिक सामाग्री विभिन्न प्रतियोगिताका पुरस्कार राशी लगायतमा खर्च गरिसकेका छन् ।
अन्य वडा सदस्यहरु समेत वडामा हुने गरेका विभिन्न गतिविधिमा सक्रिय सहभागिता रहँदै आएको छ । वडा समृद्धीका लागि पार्टी र जाती भन्दा माथि रहेर जनहितमा काम गरिरहेको वडा सदस्य रमेश श्रेष्ठले बताए । उने समग्र वडाको विकासमा अहोरात्र खटिरहेको बताए ।
२ हजार १ सय ५२ जनसङ्ख्या रहेको यो वडामा विभिन्न जातजाती भाषा तथा समुदायको बसोबास रहेको छ । उनीहरुको भाषा, संस्कार, संस्कृतिको संरक्षण तथा विकास गर्न सके पर्यटनमा समेत टेवा पुग्ने स्थानीयहरु बताउँछन् । वडा कार्यालयको आफ्नै भवन नभएपनि यसै वर्ष वडा कार्यालय निर्माणका लागि २३ लाख रुपैंया बजेट विनियोजन भएको छ । वडामा कर्मचारी अभाव भएपनि यसको व्यवस्थापन गर्दै जनतालाई सरल तथा सहज तरिकाले सेवा प्रदान गरिरिहेको छ ।
वडामा आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौतिक विकासका गतिविधिहरु तीब्रताका साथ अघि बढिरहेको छ । सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाईका क्षेत्रमा सुधारात्मक ठूला तथा साना योजनाहरु मार्फत समृद्ध वडा निर्माणका लागि बजेट विनियोजन तथा योजना छनौंट भइरहेको छ ।
२१.३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो वडामा उर्वर जमिनसंगै पर्यटकीय सम्भावनाहरु रहेका छन् । रुद्राक्ष, अलैंची यहाँका स्थानीयको मुख्य आम्दानीको श्रोत हो । वडाले आफ्नो वडा भित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, संरक्षण तथा विकासका लागि आफ्नो मुख्य स्रोत साधनको प्रयोग गरिरहेको छ । यसरी नै विकासको गति अघि बढ्ने हो भने समृद्धिका हिसावले नमुना वडा हुनेमा कुनै दुई मत छैन ।






