पाँचखपन, पाँचखपन नगरपालिका वडा नं. २ मा राहत वितरण सम्पन्न भएको छ । वडा भित्र रहेका विपन्न परिवारलाई राहत वितरण गरेको वडाध्यक्ष उत्तम दाहालले बताए । वडाका ७२ विपन्न परिवारलाई १६ सय किलो चामल, ३६ लिटर तेल, ७२ किलो नुन, ७२ किलो दाल र १ सय ४४ थान साबुन वितरण गरिएको हो । वडाको तीन स्थानमा राहत वितरण केन्द्र बनाएर राहत वितरण गरिएको बताए ।एक घरमा एक जना रहेका ६ घरलाई प्रतिव्यक्ति १० किलोको दरले चामल, दाल, तेल, साबुन वितरण गरिएको हो । त्यस्तै २ देखि ३ जना सदस्य रहेका १६ घर परिवारलाई १५ किलो चामल, ४ देखि ५ जना सदस्य रहेको ४६ परिवारलाई २५ किलो, ६ जना भन्दा बढी सदस्य रहेको परिवारलाई ३० किलो चामल, दाल, तेल र साबुन वितरण गरिएको दाहालले बताए ।
कोरोना विपत व्यवस्थापन समिति, वडा समिति र प्रहरीको उपस्थितिमा राहत वितरण गरिएको थियो । वडा समिति र कोरोना विपद व्यवस्थापन समितिले छनौंट गरेकाहरुलाई राहत वितरण गरेको वडाध्यक्ष दाहालले बताए । सोही क्रममा सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा अनुगमन समितिका सदस्य तथा पाँचखपन नगरपालिका उपप्रमुख भिमादेवी राई र मानसिङ पोख्रेलको उपस्थिति रहेको थियो ।







