काठमाण्डौ, संयुक्त अरब इमिरेट्स ९यूएई० मा कोरोना भाइरसको कारण लकडाउनमा फसेका तीन सयभन्दा धेरै भारतीयलाई दुबईबाट फिर्ता ल्याइएको छ । बिहीबार दुई वटा उडानमार्फत सबै जना केरल पुगेका थिए र उनीहरुलाई क्वरेण्टीनमा पठाइएको छ ।

भारतले गएको मार्च महिनामा कोरोना भाइरस सङ्क्रमण फैलिनबाट रोक्नका लागि सबै अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेको थियो ।

अबको केही हप्तामा झण्डै १५ हजार भारतीयलाई १२ देशबाट विशेष विमानमार्फत स्वदेश ल्याउने तयारी छ । सबै भारतीयले हवाई भाडा आफैले व्यहोर्नुपर्नेछ र आउनुअघि सबैको कोरोना परीक्षण गरिनेछ । बिहीबार अमेरिका र बेलायतबाट पनि भारतीय लिएर विमान उडान भर्ने तयारीमा थिए तर चालक दलका सदस्यहरको परीक्षणमा समय लागेपछि उडान सरेको छ ।

भारतले विदेशमा रहेका भारतीयहरुलाई स्वदेश ल्याउने अभियानलाई वन्दे भारत मिसन नाम दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा दुई लाख भारतीयलाई विदेशबाट स्वदेश ल्याउनु पर्नेछ । सन् १९९० पछि यसलाई सबैभन्दा ठूलो अभियान भनिएको छ । खाडी युद्धको समयमा एक लाख ७० हजार भारतीयलाई स्वदेश ल्याइएको थियो ।

भारतको सरकारी हवाई सेवा एअर इण्डियाको उडान अबको केही दिनमा अमेरिका, बेलायत, साउदी अरब, कतार, सिङ्गापुर र मलेसियातर्फ उड्दैछ । यूएईबाट मात्रै एक लाख ९७ हजार भारतीयले स्वदेश फर्कन आवेदन दिएका छन् । धेरैजसो केरलका छन् । केरलका लाखौँ नागरिक यूएईमा काम गर्छन् ।

भारत आफै टिकटको पैसा दिने र कोरोना सङ्क्रमण नभएका आफ्ना नागरिकलाई स्वदेश ल्याउन लागेको छ । सबै उडानमा दुई सयदेखि दुई सय ५० जनासम्म रहनेछन् ।

भारतले जलमार्गबाट पनि आफ्ना नागरिक स्वदेश ल्याइरहेको छ । भर्खरै भारतीय जलसेनाले मालदिभ्समा एउटा जहाज पठाएको थियो र त्यहाँ रहेका एक हजार भारतीयलाई फिर्ता लिएर आएको थियो । भारतीय विदेश मन्त्री एस जयशङ्करले विदेशमा रहेका भारतीयलाई फर्कन इच्छा भए दूतावासमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया