काठमाडौं, कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समन्वय समितिले लकडाउनको अबको मोडल तयार गर्न कार्यदल गठन गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वमा कार्यदल गठन भएको समितिका सदस्य रहेका एक मन्त्रीले जानकारी दिएका छन् ।
कार्यदलले भोलिसम्म विभिन्न देशको अनुभव, नेपालको अवस्था र त्यसको आधारमा लकडाउनको समय कति थप्ने वा क्षेत्रगत अवस्था हेरेर फरक फरक पार्ने लगायतका विषयमा सुझाव दिनेछ । त्यसैका आधारमा मन्त्रिपरिषद् बैठकले निर्णय लिने ती मन्त्रीले जानकारी दिए ।
आजको समिति बैठकमा लकडाउनलाई ठाउँ हेरेर खुकुलो पार्ने विषयमा पनि छलफल भएको थियो । एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म आवतजावत प्रतिबन्ध लगाएर कोरोना संक्रमणको कम जोखिम क्षेत्रमा लकडाउन खुकुलो पार्ने विषयमा छलफल भएको थियो ।




