संखुवासभा, पञ्चायतकालमै कम्युनिस्ट राजनीति सुरु गरेका संखुवासभाका हरि वैरागी दाहालले जलविद्युत क्षेत्रमा निजी क्षेत्रलाई डोर्‍याए। जिल्लाबाट सांसद निर्वाचित हुँदा पनि उनले हाइड्रो अभियानलाई निरन्तरता दिइरहे।

करिब चार दशक कम्युनिस्ट राजनीति गरेका हाइड्रो अभियन्ता वैरागीको हृदयाघातका कारण शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भयो। २०१४ कात्तिक २८ मा संखुवासभाको मादी कोपिले गाउँमा उनको जन्म भएको थियो। उनी यज्ञदत्त दाहाल र फाल्गुणकुमारीका कान्छा पुत्र हुन्।

वैरागीको अगुवाइमा दुई दर्जनभन्दा बढी हाइड्रोपावर कम्पनी स्थापना भए। निजी क्षेत्रको लगानीमा हाइड्रो परियोजना बनाएर उनले सर्वसाधारणको घरमा उज्यालो पुर्‍याए।

२०५१ सालमा तत्कालीन नेकपा एमालेका तर्फबाट संखुवासभा–२ बाट निर्वाचित सांसदसमेत रहेका वैरागीलाई कम्युनिस्ट आन्दोलनका प्रखर नेताका रूपमा स्मरण गरिन्छ। ३०३५ सालमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजमा अनेरास्ववियुमार्फत् उनले विद्यार्थी राजनीति सुरु गरेका थिए।

नेपाली कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा सक्रिय उनी अनेरास्ववियु सप्तरीको जिल्ला अध्यक्षसमेत भएका थिए। राजनीतिक परिर्वतनसँगै आर्थिक परिर्वतन हुनुपर्छ भन्ने विचार थियो उनको। त्यही भएर २०४६ सालको परिवर्तनपछि पार्टी राजनीतिका साथै हाइड्रो अभियानमा लागेका थिए।

उनले पार्टी कार्यकर्तालाई उद्यमी बन्न प्रेरित गरेका थिए। उनको ‘मेन्टरसिप’मा सयौं व्यक्ति पार्टी कार्यकर्ता मात्र नभई व्यवसायीसमेत बनेका प्रशस्तै उदाहारण छन्।

अरुण उपत्यकाको छोरा भनी चिनिने हरि वैरागी सकारात्मक सोच राख्ने कुशल राजनीतिज्ञ, अभियन्ता र प्रष्ट विचारक थिए। वैरागीकै नेतृत्वमा २०५३ सालमा संखुवासभाको पिलुवाखोलाबाट ३ मेघावाट क्षमताको साना जलविद्युत आयोजना निर्माण भयो। यसलाई निजी क्षेत्रबाट हाइड्रोपावर सुरुआतीमध्ये एक मानिन्छ। त्यसपछि गाउँ–गाउँमा खेर गएको खोलाको पानीबाट बिजुली उत्पादन गर्ने लहर चल्यो।

नेपालमा राणाकालमै जलविद्युत उत्पादन सुरु भए पनि लामो समयसम्म यसले गति लिन सकेन। १९६८ सालमा बेलायत सरकारको सहयोगमा नेपालमा ५ सय किलोवाट क्षमताको पहिलो फर्पिङ हाइड्रोपावर सुरु भयो। त्यसपछि वर्षौसम्म पनि नयाँ जलविद्युत योजना आएनन्।

राणाकालपछि प्रजातन्त्र स्थापना अनि त्यसपछिको पञ्चायती शासन व्यवस्था पनि जलविद्युत विकासका लागि सुखद रहेन। पञ्चायतकालको नियन्त्रित अर्थतन्त्रमा जलविद्युत क्षेत्रमा निजी क्षेत्र आउन सकेनन्।

फर्पिङ हाइड्रोपावरको बिजुली राजा–महाराजाले उपभोग गर्थे। त्यसबेला बिजुली सर्वसाधारणको पहुँचमा थिएन। फर्पिङपछि नेपाल सरकारले आफ्नै लगानीमा १९९२ सालमा ६ सय ४० किलोवाट क्षमताको सुन्दरीजल हाइड्रोपावर बनाएको थियो। त्यसपछि २०१९ सालमा ललितपुरको गोदावरीमा १२ किलोवाट क्षमताको हाइड्रोपावर बनाइएको थियो, जसको अवशेष अझै भेटिन्छ।

नेपालका नदीबाट खेर गएको पानी कसरी प्रयोग गर्ने भन्ने सोच पलाएपछि वैरागी यो क्षेत्रमा आकर्षित भए। निजी क्षेत्रको सहभागितामा साना विद्युत आयोजना निर्माणमा उनले आह्वान गरे।

दाहालको निधनले राजनीतिमा प्रखरवक्ताको अभाव त हुन्छ नै, अनि जलविद्युतका नेताको पनि। काठमाडौं, कोटेश्वर बस्दै आएका उनका पत्नी लक्ष्मी, छोरीहरू अस्मिता र अंगिता र छोरा आशिष छन्।

नेपाल न्युजबाट

तपाईको प्रतिक्रिया