संखुवासभा, अरुण तेस्रो जलविद्युत आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ । हालसम्म २५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । ९०० मेगावाटको उक्त आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको आयोजनाले जनाएको छ ।

मकालु गाउँपालिका–५ मा रहेको ड्याम साइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकाश एसोसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेको छ। फ्याक्सिदामा सहायक सुरुङमार्गको काम सम्पन्न गरी मुख्य सुरुङको ७ सय ९० मिटर पुर्‍याइएको सतलज कम्पनीले जनाएको छ।

११ किलोमिटर रहेको सुरुङ मार्ग आठ स्थानबाट खन्ने काम धमाधम चलिरहेको छ। अरुण तेस्रो आयोजनाले कामलाई गति दिन ३३ केभी प्रशारण लाइनको विद्युत् बिस्तार तीव्र बनाएको छ। विद्युतबिना निर्माण कार्यमा ढिलाइ हुने भन्दै निर्माण स्थल साइड फ्याक्सिदा र पावर हाउस दिदिङमा विद्युत् पुर्‍याउन तिरतिरे सब स्टेसनबाट ३३ केभी प्रशारण लाइनको पोल गाड्ने काम सम्पन्न गरी तार टाग्ने काम सुरु गरेको जनाएको छ।

टा«न्स मिसनलाइनको जग्गा अधिग्रहणका लागि सात वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले पत्राचार गरी मुआब्जा निर्धारण गर्न सहमति अन्तिम चरणमा पुगेको जनाएको छ। अरुण तेस्रोले हालसम्म विभिन्न क्षेत्रमा ८ अर्ब ८० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको सतलज कम्पनीले जनाएको छ। आयोजनाका लागि ड्याम फ्याक्सिदा र पावर हाउस पुखुवामा २ हजार ४ सय भन्दा बढी भारतीय र नेपाली कामदारले काम गरिरहेको छन् ।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजना सम्पन्न गर्न एक खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३ सय ४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त विकास सम्झौता पिडिएमा उल्लेख छ।

तपाईको प्रतिक्रिया