संखुवासभा, अहिले देशका अधिकांश ठेकेदार योजनाको ठेक्का लिएर काम नसकेर कारवाही भोगिरहेका छन्। तर संखुवासभाका एक ठेकेदारले तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका छन् । कुन्सालिङ र अरुण–वरुण जेभीले जिल्लाभित्र र बाहिर गरी आधा दर्जन योजना सम्झौता अगाबै निर्माण सम्पन्न गरेको छ ।

कुन्सालिङ र अरुण–वरुण जेभीले निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा चार महिना अघि नै काम सकाएर हस्तान्तरण गरेको छ। अरुण–वरुण जेभीले जिल्लाका विभिन्न स्थानका योजना निर्धारित समय भन्दा अगाडि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेका कारण सम्मानित समेत भएको छ।

अरुण–वरुण जेभीले निर्देशक मिगुर शेर्पाले सम्झौता अवधि भन्दा अघिनै कोष तथा लेखा नियन्त्रक कार्यालय, माल्टा स्वास्थ्यचौकी खाँदबारी ५, तुम्लिङटार स्वास्थ्य चौकी खाँदबारी ९, सरकारी वकिलको कार्यालय चैनपुर लगायतका योजना समय भन्दा अगाबै हस्तान्तरण गरेर नमुना ठेकेदारको रुपमा स्थापित भएका छन् । एक करोड ७९ लाख ५२ हजार ४३५ रुपैयाँ ठेक्का लिएको अरुण–बरुण जेबीले तुम्लिङटार स्वास्थ्य चौकीको भवन समय भन्दा चार महिना अघि नै हस्तान्तरण गरेको छ।

अरुण–बरुण जेबीले २०७५ असार २५ गते ठेक्का पाएको हो । उसले २४ पुस ०७६ मा निर्माण सम्पन्न गर्नु पर्ने भए पनि सम्झौता अवधिभन्दा चार महिना अघि नै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको मिगुर शेर्पाले जनाकारी दिए। अरुण–बरुण जेभीले भ्याटबाहेक २ करोड २३ लाखमा ठेक्का लिएको कोलेनिका संखुवासभाको भवन सम्झौता भन्दा ६ महिना अगाबै २०७२ जेठ १९ मा हस्तान्तरण गरेको थियो ।

निर्देशक शेर्पाले १ करोड ९० लाखको सरकारी वकिलको कार्यालय चैनपुरको भवन पनि समयभन्दा अघि नै सम्पन्न गरेका हुन् । जिल्लाका धेरै ठेकेदार आयोजना अलपत्र पारेर कारबाहीमा परेको बेला अरुण–वरुण जेभीका निर्देशक मिगुर शेर्पा महालेखा नियन्त्रक कार्यालयबाट समेत सम्मानित भइसकेका छन् । निर्देशक शेर्पाले आफुले ठेक्का पाएका सबै योजना सम्झौताको समय अगाबै सम्पन्न गरेर बुझाएको बताए । अरुण–वरुण जेभीले तेह्रथुमको कोष तथा लेखा नियन्त्रक कार्यालय भवन पनि सम्झौता समयभन्दा सात महिनाअघि नै निर्माण सम्पन्न गरेर बुझाएको छ ।

शेर्पा कोलेनिका तेह्रथुम र कोलेनिका संखुवासभाबाट समेत सम्मानित हुँदा यसले थप प्रेरणा मिलेको बताए । संखुवासभाका ९३ वटा निर्माण कम्पनी भए पनि इमान्दार र पहिलो अरुण–वरुण जेभी भएको निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए । योजना लिएर अलपत्र पारेर बदनाम हुने गरेका अन्य निर्माण कम्पनीलाई यसले नयाँ पाठ सिकाएको उनले बताए । अरुण–बरुण जेभीका निर्देशक शेर्पा निर्माण व्यवसायी संघका महासचिव हुन् । उनी यो ब्यवसायमा ६ वर्ष अघि प्रवेश गरेका हुन्।

तपाईको प्रतिक्रिया