संखुवासभा, भारतले नेपालको सीमाना मिचेको भन्दै संखुवासभामा विरोध प्रदर्शन भएको छ । भारतले हालै निकालेको नयाँ नक्साको बिरोधमा देशभरी प्रदर्शन भईरहेको बेला संखुवासभामा पनि विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेको हो । किराँत राई विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त रुपमा संखुवासभाको खाँदबारीमा सोमबार प्रदर्शन गरेको हो ।
खाँदबारीका मुख्य चोकहरुमा विद्यार्थीहरुले ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद, हाम्रो देश प्राण भन्दा प्यारो छ’को नारा लगाउँदै बजार परिक्रामा गरेका थिए । कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता नेपालका ऐतिहासिक भूमिमा भारत सरकारले गिद्धे नजर लगाएको विद्यार्थीहरुले आरोप लगाएका छन् । यसअघि शनिबार स्वतन्त्र युवा अभियान संखुवासभाले पनि विरोध प्रदर्शन गरेको थियो ।
भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने विद्यार्थीहरुले माग गरेको छ । भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरूले नेपालको भूभाग भारतीय नक्साबाट हटाउन समेत माग गरेका छन् ।
संखुवासभामा निमार्णधिन अरुण तेस्रो आयोजना प्रर्वदन गर्ने जिम्मेवारी पाएको भारतको सरकारी कम्पनी सतलज जलविद्युत निगम र निगमले नियुक्त गरेका ठेकेदार कम्पनीहरुमा भारतिय कामदारहरु रहेका छन् । खाँदबारीमा भएको प्रदर्शनले उनीहरुमा पनि धक्का परेको विजय कार्कीले बताए । खाँदबारीमा अरुण तेस्रो परियोजनाको काम गर्न भारतिय नागरिक समेत बसोबास गर्ने गरेका छन् ।







