
काठमाण्डौ ,रौतहटका कुन्दनकुमार सागर सिंगापुरको नानयाङ विश्वविद्यालयबाट ‘बायो टेक्निक इन्जिनियरिङ्ग’मा स्नातकोत्तर गरेर गएको वर्ष स्वदेश फर्किनुभयो । एन्टिबायोटिकले शरीरमा विस्तारै काम गर्न छाड्नुको कारण, यसले गर्दा रोग निको नहुने समस्या र विकल्पमा प्रयोग गर्न सकिने औषधिका बारेमा सागरले अनुसन्धान गर्नु भएको हो । नेपालमै पनि एन्टिबायोटिक औषधिले काम गर्न छाडेको र रोग बल्झिन थालेको बिरामीको गुनासो छ ।
तर विस्तृत अनुसन्धान गरिएको छैन । सागरले विश्वव्यापी रुपमै बढ्दै गएको यो समस्याका बारेमा सिंगापुरको सुविधासम्पन्न विश्वविद्यालयमा अनुसन्धान गरेर त्यसको प्रयोग नेपालमै गर्ने योजनाका साथ स्वदेश फर्किने बाटो तय गर्नु भएको हो ।
‘जति विदेश बसेपनि देशकै माया लाग्छ । जति नयाँ–नयाँ अनुसन्धान गरे पनि त्यसको प्रयोग नेपालीकै लागि गर्न सकियोस् भन्ने भइरहन्छ’ सिंगापुरबाट फर्केका सागर भन्नुहुन्छ, ‘देशको माया लागेपछि अब स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किएको हुँ ।’
स्वदेश फर्केलगत्तै सागर त्रिभुवन विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद नार्कलगायतका अनुसन्धान केन्द्रमा पुग्नुभयो पनि । तर आश गरेअनुसारको प्रोत्साहन र अनुसन्धान गर्ने वातावरण भने भेट्नुभएन । तर पनि उहाँले आँट मार्नु भएको छैन ।
‘सिंगापुरमा पढायो भने पनि लाखौँ कमाउन सकिन्छ । परिवार पाल्न र घरसम्पति जोड्न समस्या पर्दैन । त्यसमाथि अनुसन्धान गर्दै गएमा नाम र दाम बढ्दै जान्छ’ उहाँले भन्नुभयो ‘तर नेपालमा अनुसन्धान गरेर पेट पाल्न गाह्रो छ भन्ने कुरा थाहा पाएर नयाँ चुनौति लिएर फर्कियौँ ।’
शरीरमा क्यान्सरका कोष फैलिने अवस्था र प्रक्रियाका विषयमा विद्यावारिधि गरेका पोखराका सागर रेग्मी स्वदेश फर्केको एक महिना मात्रै बित्यो । कुन्दन पढ्ने विश्वविद्यालयबाटै विद्यावारिधि गरेका रेग्मीले स्वदेश फर्किदा सिंगापुरको झण्डै डेढ दशक बसाइ टुंग्याउनुपरो । र पनि पश्चाताप मान्नु भएन । तर काठमाण्डौ फर्किएको भोलिपल्टै परिवार र साथीभाइले प्रश्न गरे, ‘नेपाल फर्केर के गर्छौ रु’ रेडिमेड जवाफ नभए पनि कुन्दनले मनमनै भन्नुभयो, जे सकिन्छ, त्यही गर्छु ।




