भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको १४ औं गाउँसभाले आर्थिक वर्ष २०८०÷८१ को लागि ५२ करोड ५७ लाख ९२ हजार १ सय ७० रुपैयाँ बराबरको बजेट पारित गरेको छ । पालिकाको १४ औं गाउँसभामा अध्यक्ष सरोज बस्नेतले प्रस्तुत गरेको निती तथा कार्यक्रम र उपाध्यक्ष रमा राईले प्रस्तुत गरेको बजेट सभाले पारित गरेको हो ।
सभाले चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार ९ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बजेट गाउँपालिका उपाध्यक्ष रामा राईले प्रस्तुत गरेकी थिईन् । सभा मार्फत आर्थिक विकासमा १ करोड ४३ लाख ३० हजार, सामाजिक विकासमा ३ करोड ६७ लाख १४ हजार, पुर्वाधार विकास तर्फ ३ करोड ६ लाख १६ हजार २ सय २ रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धी क्षेत्र ८० लाख ५० हजार र कार्यालय सञ्चालन तथा प्रशासन तर्फ ८० लाख ९५ हजार गरि आ.व २०८०÷०८१ को लागि ५२ करोड ५७ लाख ९२ हजार १ सय ७० रुपैयाँ बजेट पारित गरेको छ ।
पालिकालाई वित्तिय समानिकरण ८ करोड ४७ लाख, राजस्व बाँडफाडबाट ८ करोड २२ लाख ७८ हजार ३ सय, संघ समपुरक ५० लाख, विशेष अनुदान ५६ लाख, प्रदेश समपुरक १ करोड, प्रदेश राजस्व बाँडफाँड ३६ लाख ३७ हजार, संघ सशर्त अनुदान ३ करोड ३७ लाख, प्रदेश सर्शत अनुदान १ करोड ५ लाख ९४ हजार, आन्तरिक आम्दानी ४२ लाख १२ हजार ८ सय ७० रुपैयाँ र गत आ.वका. मौजदात १ करोड १० लाख आय रहेको छ ।
कुल बजेटको ३६ करोड ९३ लाख ६९ हजार (७०.२५) प्रतिशत चालु तर्फ र १५ करोड ६४ लाख २३ हजार १ सय ७० रुपैयाँ (२९.२५ प्रतिशत पँुजिगत तर्फ विनियोजन भएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिएका छन् ।
गाउँपालिकाले विशेष गरि कृषिमा जोड दिएको छ । एक घर एक करेसाबारी, कृषि उत्पादनलाई बजारीकरणको लागि ध्यान दिने, दुध र मासुमा गाउँपालिकालाई आत्म निर्भर बनाउने, कृषकलाई उत्पादनमा आधारित अनुदान दिने जस्ता निती तथा कार्यक्रम निर्माण भएको गाउँपालिका अध्यक्ष बस्नेतले बताए ।
साथै १४ औं गाउँसभाले विनियोजन विद्येयक सहित ६ वटा विद्येयकहरु पास गरेको छ । सभाले विनियोजन विद्येयक, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विद्येयक २०७९, कर्मचारी प्रोत्साहन भत्ता कार्यविधि २०७५ पहिलो संशोधन, गाउँपालिकाको कर्मचारी तह बृद्धि सम्बन्धी कार्यविधि २०८०, पशुमन्छी वितरण तथा व्यवस्थापन कार्यविधि २०८० र टेम्केमैयुङ गाउँपालिकाको सार्वजानिक खरिद नियमावली २०८० पारित गरेको गाउँपालिकाले जनाएको छ ।









