संखुवासभा, पूर्वी पहाडका जिल्लाहरुमा रुद्राक्ष व्यापार सुरु हुन लागेको छ । विषेश गरी रुद्राक्षको राजधानी भनेर चिनीने भोजपुर र संखुवासभामा चहलपहल सुरु भएको छ । तर यसको चहलपहल संगै अप्राकृतिक रुद्राक्ष उत्पादनको हल्लाले यी दुवै जिल्ला तातेको छ ।

विषाधी प्रयोग तथा मेसिन प्रयोग गरेर रुद्राक्षको कृत्रिम आकारमा उत्पादन गर्दा समस्या भएको भन्दै स्थानीय व्यापारी र कृषकहरु चिन्तित छन् । चिनिया व्यापारीले चिल्लो, थेप्चे, मदाने र कण्ठे आकारका रुद्राक्षको व्यापार गर्न विगत ८ वर्ष अघि नेपाल भित्रिए । तर उनीहरुले चाहे जस्तो रुद्राक्ष उत्पादन नभएको भन्दै यसलाई बोटमै क्लिप प्रयोग गरेर कृत्रिम आकार निर्माण गरिएका थिए ।

गत वर्ष देखि कृषकका रुद्राक्ष बगान ठेक्का लिएर व्यापारीहरुले जथाभावी क्लिप प्रयोग गरेर कृत्रिम दाना उत्पादन गरे । तर प्राकृतिक उत्पादन जस्तो थेप्चे भएपनि चिल्लो नभएको भन्दै उक्त रुद्राक्ष विक्रि वितरणमा समस्या आयो । यस वर्ष भने रुद्राक्ष छिप्पी नै लाग्दा बोटमै विषाधी छर्कीएर राम्रा दाना उत्पादनमा व्यापारीहरु लागि परेका छन् ।

गत वर्ष संखुवासभाको लोहाकोटमा १५ लाख ठेक्कामा लिइएको रुद्राक्षमा उक्त विषाधी प्रयोग गरिएको एक रुद्राक्ष व्यवसायीले बताए । विषाधी लगाइएको रुद्राक्ष चिल्लो हुने तर एक महिनापछी रङ खुइलीने, हलुका हुने र कालो देखिने समस्याले बहुमूल्य रुद्राक्ष समेत बिक्रि गर्न समस्या भएको उनले बताए । चैनपुरका बिर बहादुर तामाङका अनुसार त्यसरी उत्पादन गरिएका रुद्राक्ष बिक्रि नहुने समस्याका कारण व्यापारी र कृषक दुवैलाई नोक्सान भएको छ । गत वर्ष परिक्षण गरिएका रुद्राक्षको बोटमा यसै वर्षदेखि क्वालिटीका रुद्राक्ष फल्न छाडेको उनले बताए ।

यदी त्यस्ता  रुद्राक्ष नयाँ तथा पुराना व्यापारीले खरिद गरेर बिक्रिका लागि अन्य देश लैजादा नेपालको छवी अन्तराष्ट्रिय जगतमा नै धमिल्याउन खोजिएको कोशी दाहालले जनाए । विषाधी प्रयोग गरेर क्वालीटीको दाना उत्पादन गर्न अहिले झापा, धनकुटा, संखुवासभासभा र भोजपुरमा लहर चलेको छ, उनले भने ।

तर यसले गर्दा चिनियाँ र भारतीय व्यापारीहरुलाई समेत रुद्राक्ष खरिदमा समस्या हुँदै आएको दाहालले बताए । यस्तो रुद्राक्ष उत्पादनले कृषकका वर्षौसम्म आम्दानी दिन सक्ने बोट बिग्रीएका छन् भने हामी जस्ता व्यापारीहरुलाई समेत रुद्राक्ष खरिद बिक्रिमा समस्या भएको बताए । त्यस्तो रुद्राक्ष झुक्याएर भए पनि बिक्रि गर्ने भएकाले भारत र चीन निर्यात हुँदै आएको रुद्राक्ष समेत बन्द हुने स्थितिमा पुगेको उनले बताए ।

विषाधी प्रयोग गरेर आवश्यकता अनुसार जति पनि रुद्राक्ष उत्पादन गर्न सकिने भएकाले आगामी दिनमा रुद्राक्ष व्यवसाय बन्द हुनसक्ने भएकाले सम्बन्धीत निकाय र प्रशासनले यसमा ध्यान पु¥याउनु पर्ने बताए । एक पटक विषाधी प्रयोग गरेपछी अर्को पटकदेखि क्वालिटीका दाना नफल्ने भएकाले कृषकहरु समेत चिन्तित छन् ।

विगतमा इन्डोनेसियामा यसरी नै विषाधी प्रयोग गरेर कृत्रिम बनाइएको रुद्राक्ष बहुमूल्य रह्यो तर अर्को पटक क्वालिटीका रुद्राक्ष उत्पादन नहुँदा भने व्यवसाय नै बन्द भएको ब्यापारीहरु बताउँछन् । इन्डिोनेसियाबाट ल्याइएका १ लाख १० हजार मूल्यको रुद्राक्षको माला अहिले दुई सय रुपैंयामा बिक्रि गर्न समस्या भएको उनीहरु बताउँछन् । नेपालको रुद्राक्ष व्यवसाय समेत यस्तै हुन सक्ने भएकाले यस्तो गतिविधि तुरन्त रोक्न व्यापारीहरुले भनेका छन् ।

यो विषयमा रुद्राक्ष व्यवसायी महासंघ केन्द्रिय उपाध्यक्ष भुपेन्द्र कार्कीसँग कुरा गर्दा यस्तो गतिविधि संखुवासभाको पाँचखपन, चैनपुर, खराङ, लोहाकोट लगायतका स्थानहरुमा बढेको जानकारी दिए । यसका लागि अहिले गृह मन्त्रालय मार्फत नै रुद्राक्ष उत्पादनका १६ जिल्लामा रुद्राक्षको अप्राकृतिक बनाए त्यस्लाई हटाउन निर्देशन भएकाले यस्ता गतिविधि भएका स्थानहरुमा निगरानी गर्न र तत्काल हटाउन जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएको बताए ।

तर गत वर्ष पनि रुद्राक्षको क्लिप हटाउने विषयमा तनाव सिर्जना भएको भन्दै कानुन अभावका कारण यसको फाइदा उठाइरहेको कार्कीले बताए । रुद्राक्ष खरिद विक्रि तथा उत्पादनका लागि निति निर्माण गर्न केन्द्रलाई जिम्मा दिइएको रुद्राक्ष व्यवसायि महासंघ संखुवासभाका अध्यक्ष चक्र विशुंकेले बताए ।

तपाईको प्रतिक्रिया