संखुवासभा, पूर्वी पहाडका जिल्लाहरुको मूख्य आय स्रोतको रुपमा रहेको रुद्राक्ष (दाना)को मूल्यमा भारी गिरावट आएको छ । विषेश गरी रुद्राक्षको राजधानी भनेर चिनीने भोजपुर र संखुवासभामा व्यापार सुरु हुनै लाग्दा मूल्यमा गिरावट आएको रुद्राक्ष व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष भुपेन्द्र कार्कीले जानकारी दिए ।
अप्राकृतिक रुद्राक्ष उत्पादन तथा कृत्रिम बनावटको हल्लाले रुद्राक्ष उत्पादन हुने जिल्लाहरुमा मुखीदार रुद्राक्षको मूल्य गिरावट भएको कार्कीले बताए । छिमेकी मुलुक चीन र भारत निर्यात हुदै आएको रुद्राक्ष यसपाली भने भारत निर्यात गर्न समस्या हुने देखिएको उनले बताए । चिनीया व्यापारीहरुले इन्डोनेसियामा चाहे अनुसारका मुखीदार दाना कृत्रिम उत्पादन गरिरहेको र त्यसरी उत्पादन गरिएका दाना भारत निर्यात भएकाले नेपालका रुद्राक्ष निर्यात गर्न समस्या भएको बताए ।
कृत्रिम उत्पादनका कारण इन्डोनेसियाका अधिकतम रुद्राक्ष चिनिया व्यापारीले नै भारत तर्फ निर्यात गरिरहेको र त्यस्को प्रत्यक्ष असर नेपालमा पर्ने भारतीय व्यापारी पवन आउजाले बताए । यसरी इन्डोनेसियामा जस्तै नेपालमा पनि कृत्रिम रुद्राक्ष उत्पादनको लर्को चलेकाले यसको प्रत्यक्ष असर नेपालमा परेको आउजाले बताए । नेपालमा संकलित अरबौ रुपैंयाका रुद्राक्ष आउजालाई बिक्रि गर्दै आएका कार्कीका अनुसार गतवर्षको तुलनामा यो वर्ष मुखीदार दानाको मूल्य पचास प्रतिशतले घट्ने देखिन्छ भने निकट भविष्यमा नै यसको व्यापार बन्द हुनसक्छ ।
कार्कीले केही दिन अघिमात्र टेलिफोनमा यसपालीको रुद्राक्ष मूल्य सोधपुछ गर्ने क्रममा रुद्राक्ष खरिद नगर्न कार्कीलाई आउजाले बताए । गतवर्ष प्रदेश नं. १ बाट करिब ७ अर्ब रुपैंयाको रुद्राक्ष निकासी भएको थियो । प्रदेशकै मुख्य आम्दानीको रुपमा रहेको रुद्राक्ष यसपाली भने खरिद बिक्रिमा नै समस्या हुने देखिएको कार्कीले बताए ।