संखुवासभा, पाँचखपन नगरपालिकाका जनप्रतिनिधिले व्यक्तिगत खर्चमा सडक मर्मत गरेका छन् । वडा नं. १ का वडाध्यक्ष टेक बहादुर बुढाथोकी र मेयर विपिन राईले नगर भित्रका मूख्य सडक मर्मत गरेका हुन् । दशैं खर्च कटाएर स्थानीयलाई दशैंमा आवतजावतका लागि सहज बनाउन सडक मर्मत गरेको वडाध्यक्ष बुढाथोकीले बताए ।

शुक्रबार देखि भ्याकुलोडर प्रयोग गरेर सडक मर्मत सुरु गरिएको मेयर राईले बताए । शुक्रबार बडहरेनी–वाना, वाना–बिहिबारे, बिहिबारे–चुङखुरुङ सडकखण्ड मर्मत गरिएको बुढाथोकीले बताए । शनिबार चैनपुर–बाह्रबिसे सडकखण्ड अन्तर्गतको वाना–ओक्तेन सडक मर्मत गरिने छ ।

वर्षायामका कारण सडक भत्किएका कारण सवारीसाधन आवागमनमा समस्या भएको थियो । केही ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । उक्त सडक मर्मतका लागि करिब दुई लाख रुपैंया खर्च हुने टेक बहादुर बुढाथोकीले बताए ।

पाँचखपन नगरपालिका प्रवेशद्धारका रुपमा रहेको हेँवा खोलामा पक्की पुल अभावका कारण दशैंमा घर फर्कनेहरुलाई झनै समस्या हुने गरेको मेयर राईले बताए । यता खाँदबारी नगरपालिका अन्तर्गतको खाँदबारी बडहरेनी सडक मर्मत नगरेका कारणले पाँचखपन नगरबासीलाई आवतजावतमा समस्या भएको राईले बताए ।

यी सडकखण्डहरुमा पुल निर्माण र सडक मर्मत हुनेहो भने पाँचखपनमा बाह्रै महिना सवारी सञ्चालनमा आउने राईले बताए । तर आफ्नो नगरपालिका भित्र मात्रै सडक राम्रो भएपनि नगरपालिका प्रवेश गर्ने सडकहरु छिमेकी नगरपालिकाहरुले मर्मत नगरिदिदा समस्या भएको राईले बताए ।

तपाईको प्रतिक्रिया