थाइल्यान्डले गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएको छ ।

कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै थाइल्यान्डले गाँजामाथिको प्रतिबन्ध हटाएको बीबीसीले जनाएको छ । थाइल्यान्ड गाँजामाथिको प्रतिबन्ध हटाउने दक्षिण–पूर्वी एसियामै पहिलो देश बनेको छ । अब थाइल्यान्डमा गाँजाको खेती गर्न पाइने छ ।

प्रतिबन्ध फुकुवा भएसँगै सरकारले खेती गर्नको लागि नागरिकहरुलाई गाँजाको १० लाख विरुवा वितरण समेत गर्ने भएको छ । आजदेखि थाइल्यान्डका नागरिकले चाहेमा प्रति परिवार गाँजाका ६ वटा विरुवा सरकारबाट प्राप्त गर्न सक्नेछन् भने कम्पनीहरुले अनुमति लिएर गाँजाको खेती गर्न सक्नेछन् ।

गाँजामाथिको प्रतिबन्ध हटाउनु नागरिकका लागि आम्दानी गर्ने अवसर भएको थाइल्यान्डका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री अनुटिन चर्नविराकुलले सामाजिक सञ्जालमार्फत बताउनुभएको बीबीसीले जनाएको छ । अब रेस्टुरेन्टहरुमा गाँजा मिसाइएको खानेकुरा बेच्न तथा उपचारको रुपमा गाँजालाई स्वतन्त्र रुपमा प्रयोग गर्न पाइन्छ ।

गाँजामाथिको प्रतिबन्ध हटेसँगै सरकारले यस सम्बन्धी मुद्दामा जेल बसिरहेका झन्डै ४ हजार कैदीहरु रिहा गर्ने सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गाँजालाई लागुऔषधको सूचीबाट हटाएको भए पनि मनोरञ्जनका क्षेत्रमा भने प्रतिबन्ध कायमै रहेको छ ।

चुरोटमा गाँजा मिसाउन पाइँदैन । गाँजा नियन्त्रण फुकुवा तथा उपयोग सम्बन्धी थाई संसद्ले कानुनको मस्यौदा बनाइरहेको पनि बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया