काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको बताउनुभएको छ ।

कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहनुभएका नेता पौडेलले आज बिहीवार काठमाण्डौमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा कांग्रेस सबैभन्दा ठूलो दल भएको उहाँले बताउनुभयो ।

यो उपसमितिले पालिका चुनावको अध्ययन र विश्लेषण गरेर पार्टीलाई प्रतिवेदन बुझाएको केन्द्रीय सदस्य पौडेलले जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेसले एक सय ४१ ठाउँमा प्रमुख, एक सय ८८ ठाउँमा अध्यक्ष, एक सय १० ठाउँमा उपप्रमुख र एक सय ९० ठाउँमा उपाध्यक्ष जितेको जानकारी दिनुभयो । त्यसैगरी दुई हजार ६ सय ६५ वडाध्यक्ष, दुई हजार ६ सय ६ महिला सदस्य, दुई हजार पाँच सय ५१ दलित महिला सदस्य र पाँच हजार तीन सय सात खुला सदस्य जितेको पनि उहाँले बताउनुभयो ।

पार्टीभित्र फरक–फरक धारणा रहेकाले पालिका चुनावमा गठबन्धन प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया