भोजपुर– भोजपुर बहुमुखी क्याम्पसलाई संयुक्त रुपमा विद्यार्थी संगठनहरुले ज्ञापन पत्र बुझाएको छ । क्याम्पसमा देखिएको समस्याको समाधान गर्न १० बुँदे माग सहित क्याम्पसलाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियू जिल्ला कमिटीका अध्यक्ष प्रकाश सिं राईले जानकारी दिए ।
क्याम्पसलाई नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियन जिल्ला कमिटी अध्यक्ष/उपाध्यक्ष साथै क्याम्पस कमिटीका सभापति र संयोजकहरुको हस्ताक्षरित ज्ञापन पत्र क्याम्पसलाई बुझाएको छ । ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु १५ दिन भित्रमा समाधान गर्नुपर्ने माग राखेका छन् । माग पुरा नभएमा आन्दोलनमा उत्रने समेत उनिहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
ज्ञापन पत्रमा विभिन्न तहबाट विनियोजित बजेटबाट नयाँ बन्ने संरचना सरोकारवालाहरु संगको निर्णयमा मात्र हुनुपर्ने, क्याम्पसको पुरानो संरचना भत्काई पुराना सामग्री विक्रि गर्दा घोटाला भएकोमा छानविन हुनु पर्ने, पुस्तकालयमा रहेका कर्मचारी समयमा उपस्थित हुनुपर्ने, शुल्क तिरेवापत पाउने सेवासुविधा पाउनुपर्ने, क्याम्पसले एकलौटी निर्णय गर्ने यसमा सबैको सल्लाह सुझाव अनुसार जानुपर्ने लगायतका १० बुँदे माग सहित ज्ञापन पत्र आज क्याम्पसलाई बुझाएको छ ।