भोजपुर । भोजपुरमा मुख्यमन्त्री, पुर्व मुख्यमन्त्री सहित दुई दर्जन बढीको उमेदवारी दर्ता भएको छ । प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र एक र प्रदेशसभाको लागि निर्वाचन क्षेत्र दुई रहेको भोजपुरमा प्रदेश सदस्य तथा प्रतिनिधिसभा सदस्य गरि दुई दर्जन बढीको उमेदवारी दर्ता भएको छ । यति धेरै उमेदवारी दर्ता हुँदापनि पुरानै अनुहार दोहोरीने सम्भावना भएको छ ।

क्षेत्र नं. (क) बाट प्रदेश नं. १ का मुख्यमन्त्री रहेका रहेका राजेन्द्र राईले प्रदेशसभा सदस्यको लागि उमेदवारी दर्ता गराएका छन् भने पुर्व मुख्यमन्त्री शेरधन राईले प्रतिनिधिसभा सदस्यको लागि उमेदवारी दर्ता गराएका छन् । गत ७४ को निर्वाचनमा दुबैजना प्रदेश सदस्यमा निर्वाचित भएका थिए ।

मुख्यमन्त्री राजेन्द्र राईसहित क्षेत्र नं. (क) मा ७ जनाको उमेदावरी दर्ता भएको छ । सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राई, नेकपा एमालेबाट केन्द्रिय सदस्य हरि बहादुर राई, राप्रपाबाट फुर्वादोर्ची शेर्पा, मंगोल नेशनल अर्गनाईजेशनबाट अनिल राई, स्वतन्त्र उत्तम चापागाई..सहित ७ जना उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

यता निर्वाचन क्षेत्र नं. (ख) मा ६ जनाको मनोनयन दर्ता भएको छ । सत्तारुढ गठबन्धन दलबाट नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तावा, नेकपा एमालेबाट खड्ग प्रसाद कार्की, राप्रपाबाट केशर बहादुर श्रेष्ठ,त्यस्तै हाम्रो नेपाली पार्टीबाट भरत कुमार तामाङको उमेदवारी दर्ता भएको छ ।

यता प्रतिनिधिसभाको लागि १२ जना उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । सत्तारुढ गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य सुधन किराँती, नेकपा एमालेको तर्फबाट पोलिट व्यूउरो सदस्य तथा प्रदेश नं. १ का पुर्व मुख्यमन्त्री शेरधन राई, दिलिप कुमार खतिवडा स्वतन्त्र, नेपालका लागि नेपाली पार्टीबाट सुरेश बस्नेत, राप्रपाबाट जितेन्द्र घले, हाम्रो नेपाली पार्टी रमेश प्रसाद ओझा, मंगोल नेशनल अर्गनाईजेशनबाट चन्द्र प्रसाद राई, जसपाबाट ध्रुव राई, स्वतन्त्र महेश योञ्जन र खम्बुवान पार्टीबाट ऋषिधन राईकोको उमेदवारी रहेको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभाको लागि क्षेत्र नं. (क)मा सत्तारुढ गठबन्धन दलका मुख्यमन्त्री राजेन्द्र राई र नेकपा एमालेका हरि बहादुर राईबिच प्रतिस्पर्धा हुने देखिन्छ भने क्षेत्र नं. (ख)मा सत्तारुढ गठबन्धन दलका उमेदवार विनोद वान्तावा र नेकपा एमालेका खड्क प्रसाद कार्कीबिच प्रतिस्पर्धा हुने भएको छ ।

यता प्रतिनिधिसभाको लागि प्रदेश नं. १ का पुर्व मुख्यमन्त्री शेरधन राई र सत्तारुढ गठबन्धन दलका सुधन किराँतीबिच कडा प्रतिस्पर्धा हुने भएको छ । गत ७४ को निर्वाचनमा बाम गठबन्धनको तर्फबाट सुधन किराँती प्रतिनिधिसभा सदस्य र शेरधन राई निर्वाचन क्षेत्र नं. (ख)बाट प्रदेशसभा सदस्यको लागि निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया