भोजपुर — षडानन्द नगरपालिका दिङ्लामा रहेको षडानन्द नगर अस्पतालमा प्रसूति सेवा सुरु भएको छ। अस्पतालमा आइतबारदेखि औपचारिक रूपमा प्रसूति सेवा सञ्चालनमा ल्याइएको हो।
नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदास ले प्रसूति कक्षको उद्घाटन गर्दै सेवा सुरु गरेका हुन् । अस्पतालमा प्रसूति सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका गर्भवती महिलाहरूलाई प्रसूति तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । अस्पतालका अनुसार सेवा सुरु भएसँगै स्थानीय महिलाहरूलाई आफ्नै क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास गरिएको छ ।
नगर प्रमुख उदासले अस्पतालबाट अझ बढी स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका लागिपरेको र आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना रहेको बताएका छन् ।
स्थानीय तहमै प्रसूति सेवा सुरु भएपछि यस क्षेत्रका गर्भवती महिलाहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।









