शिवधारा, संखुवासभाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल शिवधाराबाट समृद्धीका स्वरहरु शृखला २ सम्पन्न भएको छ । मकालु साहित्य समाज संखुवासभाले आयोजना गरेको शिवधारा तर्फ पाइला सारौं पर्यटन वर्ष २०२० लाई सफल पारौं नाराका साथ समृद्धीको स्वरहरु शृखला २ सम्पन्न भएको हो ।
गत साउन २६ गते सदरमुकाम खाँदबारी देखि शिवधारा सम्मको साप्ताहिक यात्रा गरेको समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले बताए । यात्राका क्रममा साहित्यकारहरुले सेदुवा, ठूलो डाँडामा रचना वाचन गरेका थिए भने याङ्ले खर्कमा कवि गोष्ठीको आयोजना गरिएको थियो । जस्मा आधा दर्जनबढी साहित्यकारहरुले शिवधाराको पहिचान, सम्भावना र आवश्यकता लगायतका विषयवस्तुलाई समेटेर रचना वाचन गरेका थिए ।
३६ सय मिटरको उचाईबाट प्रस्तुत गरिएका विषयवस्तु र रचना वाचनले शिवधारालाई पर्यटककीय गन्तव्यको रुपमा अघि बढाउने छ भने यसले पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने बुढाथोकीले बताए ।
शिवधारा जस्तो साहसिक धार्मिक पर्यटकीय स्थल ओझेलमा पर्न नहुने र यो यात्राले शिवधाराको प्रचारप्रसारमा सहयोग पुग्ने उपाध्यक्ष कृष्ण जिमीले बताए । पर्यटन वर्ष २०२० लाई सफल पार्न जिल्लाका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी आन्तरीक पर्यटन प्रवद्र्धन गर्नु पर्ने कोषाध्यक्ष रुद्र दर्जीले बताए ।
गत वर्ष समाजले धार्मिक पर्यटकीय स्थल सभापोखरीबाट समृद्धीका स्वरहरु शृ्खला एकको समापन गरेको थियो । जहाँबाट दर्जनबढी साहित्यकारले समृद्धीको स्वर गुञ्जाएको बुढाथोकीले बताए ।
यात्रामा समाजका पदाधीकारीहरु, सांसद राजेन्द्र गौतम, मकालु गाउँपालिका कार्यबाहक अध्यक्ष चमेली राई, नेता तथा पत्रकार लगायत ३२ जना रहेका थिए । भाद्र २ गते सम्पन्न शिवधारा वाङ्मय यात्राको यात्रा संस्मरणात्मक पुस्तक र डकुमेन्ट्रि निर्माण गरीने बुढाथोकीले बताए ।









