भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा कृषक लक्षित ‘बीउ बैंक’ स्थापना गरिएको छ । कृषि विकास शाखाको पहलमा स्थापना गरिएको यस बीउ बैंकले स्थानीय तथा रैथाने बालीका बीउ संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । सामुदायिक बीउ बैंक संघ नेपालसँगको सहकार्यमा स्थापना गरिएको बीउ बैंकमा संघीय सरकारको ९ लाख ७५ हजार रुपैयाँ र षडानन्द नगरपालिका कृषि विकास शाखाको १ लाख रुपैयाँ लगानी रहेको छ।

बीउ बैंकमा धान, मकै, कोदो, फापर, सिमी लगायत विभिन्न स्थानीय जातका बालीका बीउ संकलन गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ। आवश्यक परेको समयमा कृषकलाई गुणस्तरीय बीउ सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको कृषि विकास शाखाले जनाएको छ।

षडानन्द नगरपालिका मेयर सुरेन्द्र कुमार उदासका अनुसार बीउ बैंकले परम्परागत बाली संरक्षण गर्नुका साथै जैविक विविधता जोगाउन र जलवायु परिवर्तनको असर न्यूनीकरणमा समेत योगदान पुर्‍याउनेछ।

स्थानीय कृषकहरूका अनुसार बीउ बैंक स्थापना भएपछि बाहिरबाट बीउ ल्याउनुपर्ने बाध्यता घट्ने र स्थानीय बालीप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

नगरपालिकाका अनुसार स्थानीय उत्पादन प्रवर्द्धन गर्दै कृषिलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सुरु गरिएको बीउ बैंकले दीर्घकालीन रूपमा कृषकको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया