काठमाण्डौ – स्पेनमा लकडाउन चलिरहे पनि बालबालिकालाई केही समय घरबाहिर निस्कन दिइने भएको छ । १४ वर्षमुनिका ६३ लाख बालबालिकालाई केही समय बाहिर निस्कन दिने गरी लकडाउन खुकुलो पारेको त्यहाँको सरकारले जनाएको हो ।
हरेक दिन बालबालिकालाई बिहान ९ देखि राति ९ बजेको बीचमा एक घण्टा घरबाहिर निस्कन अनुमति दिइने भएको बीबीसीले जनाएको छ । तर उनीहरु एक किलोमिटरभन्दा पर जान भने पाउने छैनन् । साइकल, स्केट तथा स्केटबोर्ड चलाउन अनुमति दिइएको छ । तर सर्वाजनिक पार्क भने बन्द नै रहने छन् ।
मनोविमर्शकर्ताले बालबालिकाका लागि दिइएको केही समयको छुट पनि उनीहरुको मानसिक स्वास्थ्यका लागि अति महत्वपूर्ण हुने भन्दै निर्णयको स्वागत गरेका छन् । लामो समय घरमै सीमित हुँदा विशेष गरी बालकालिकामा मनोसामाजिक प्रभाव परेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिन थालेपछि गएको मार्चको मध्यदेखि स्पेनमा लकडाउन चलिरहेको छ ।
स्पेन पनि कोरोना भाइरस कोभिड १९ को महामारीबाट प्रभावित भएको छ । स्पेनमा अहिलेसम्म दुई लाख २३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २२ हजार ९ सय जनाको ज्यान गइसकेको छ ।









