नेपाली समाज र पत्रकारीतालाई जिवन्त राख्न हिजो देखि आजसम्म निरन्तर भुमिका निर्वाह गर्ने कर्मयोगीहरु सायद विरलै पाइन्छ । भनिन्छ, पत्रकारिता जीवनमा कार्य सम्पादनको निम्ति उमेरको कुनै हद हुदैन । नेपालमा पञ्चायती शासन काल देखि बहुदलीय प्रजातान्त्रिक व्यवस्था हुँदै आज गणतान्त्रिक व्यवस्थामा पनि आधुनिक प्रविधिसंग आफ्नो विगतका भोगाई निरन्तर प्रयोग गरिरहेका एक वरिष्ठ पत्रकार हुन् भैरव रिसाल ।
वि.सं. १९८५ मा भक्तपुरको गुण्डुमा जन्मिएका रिसाल ९० औं वसन्त पार गरीसकेका छन् । रिसालको पत्रकारीता ऐतिहासिक घटना परीघटनाहरुसँग संगालीएका छन् । रिसालको ४७ वर्षे पत्रकारीता जीवनका भोगाइहरुको विषयमा वरिष्ठ पत्रकार भैरव रिसालसँग नागरिक चासोकर्मी सुजाता निङलेकुले गरेको कुराकानी :
अहिले दिनचर्या कसरी बिताउँदै हुनुन्छ ?
अहिले पनि पत्रकारीता पेशालाई जिवन्त नै राख्दै आइरहेको छु । अझै पनि लेखन यात्रालाई निरन्तर अगाडि बढाउने क्रममा हिमाल खबर, कान्तिपुरमा लेख्दै छु । एउटा पत्रकारको जीवन नै कलम, कापी र अक्षरमा जीवन समर्पित हुँदोरहेछ । यसै चलिरहेछ, जीवन ।
पत्रकारीता यात्रा कसरी सुरु भयो ?
सुरुवातमा त लोकसेवा आयोगबाट सेकसन अफिसरमा नाम निकालेको थिएँ । त्यो बेला वामपंथी भनेर मलाई लोकसेवा आयोगले नियुत्ति पत्र दिएन । घरको जेठो छोरो भएकोले जागिरको आवश्यकता नै थियो । जागिर खोज्ने सिलसिलामा २०१३ सालमा हालखबर दैनिक पत्रिकामा जागिर पाएँ, त्यहिँ बाट सुरु गरे आजसम्मको यात्रा ।
कतिको सहज थियो ?
त्यो बेला पत्रिका पढ्ने मान्छे अत्यन्तै कम हुन्थ्यो । आजभोलि पत्रिका बिहान निस्कन्छ । त्यो बेला बेलुका निस्कन्थ्यो ताकी शिक्षक, जागिरदारले पढ्न सकोस् भनेर ४ पैसा वा ५ पैसामा बिक्रि हुन्थ्यो । दुई सय कपि पत्रिका बिक्रि भयो भने पनि एक अर्कामा खुशीयाली मनाउने गथ्र्यौँ ।
त्यो समयमा साक्षरता भन्दा निरक्षर धेरै थिए तर पनि ज्ञानको खोजी गर्नेहरुले गर्दा जसोतसो पत्रिका बिक्रि हुन्थ्यो । पछि राससमा काम गर्न थालेँ, रेडियोमा पनि कर्तव्य पूरा गरेँ ।
विगतको पत्रकारीताको अवस्था नी ?
त्यो समयको पत्रकारीता एकदमै साँघुुरो थियो । नेपालको सुचना प्रविधि झ्याली पिटेर कटुवाल कराएर सुरु भएको अवस्था थियो । पहाडमा सुचना दिने व्यक्तिलाई वर्षको एक पाथी अन्न दिएर सुचना दिने प्रवृत्ति थियो । कम्प्युटर थिएन, मोबाइल, फोन थिएन तर अफिसले एउटा साइकल दिएर सुविधा चाहिँ दिएको थियो । त्यो साइकल अहिलेको व्यक्तिगत हेलिकप्टर जस्तो अनुभुति हुन्छ । जिल्लाको सुचना प्राप्त गर्न जिल्लाबाट आउने मान्छे पर्खनु पर्ने अवस्था थियो ।
नेपालमा पत्रकारिता मुद्रणबाट सुरुवात भएको हो । जस्तै गोरखा पत्र दैनिक देव समशेरले १ सय १७ वर्ष अगाडी सुरु गरेका थिए । जनताले सुचना थाहा पाउनै पर्ने, शासकले सुचना दिनै पर्ने कर्तव्य भएकाले जंगबहादुरले वि.स.ं १९०७ मा बेलायत गएको बेला प्रेस नेपालमा भित्र्याएका थिए ।
आकाश वाणिबाट मैँले समाचार सम्प्रेषण गर्दा ३ सय अक्षरको शब्द मात्र प्रेषण गर्न सकिन्थ्यो । कहिलेकाही ठट्टा गर्दा आफुलाई ३ सय शब्दको पत्रकार पनि भन्ने गर्दछु ।
अहिले चाहीँ के फरक अनुभुति हुन्छ ?
अहिलेको पत्रकारीता एकदमै व्यापक र फराकिलो छ । संसारमा जसरी पत्रकारिताको विकास भएको छ, त्यसरी नै नेपालमा पनि विकास भएको छ । प्रविधिको विकासले फड्को मारेको छ । सुचना प्राप्त गर्नका लागि कम्प्युटर, मोबाइल साथै इन्टरनेटका माध्यमहरु छन् । तर विडाम्वना पत्रकारहरु रिपोर्टिङमा दौडन अल्छी गर्छन् । फोनको माध्यम मार्फत् रिपोर्टिङ गर्छन् ।
अहिले पत्रकारितामा जिउँदोपन कम्जोर छ र नाफामुखी छ । विं स. २०१३/१४ सालमा एउटा पत्रकारले समाजमा जस्तो प्रभाव पार्न सक्थ्यो, यो पुस्ताको पत्रकारीतामा त्यो प्रभाव छैन । ऊ बेला पत्रिकामा लेखेका कुराहरु सबैले विश्वास गर्थे, अहिले पाठक स्रातामा विश्वास गुम्दै गएको छ । सत्य तथ्य पत्रकारको जीवन हो तर अहिलेको अवस्थामा त्यो जिवन्त भेटिन । एउटा पत्रकारले लेखेको एक अक्षरको महत्व हुन्छ जुन अक्षरले सिंगो समाज र राष्ट्रको सुचना मार्फत नेतृत्व गर्दछ ।
अबको पत्रकारिता कस्तो भइदिए राम्रो ?
अबको पत्रकारिताले आधुनिक प्रविधिको विकासलाई सक्दो प्रयोग गर्नुपर्छ । विशुद्ध पत्रकारीताको मर्म अनुरुप सत्य–तथ्य सुचना प्रवाह गर्नसक्नु पर्दछ । पत्रकारीता प्रतिको सामाजिक वितृष्णाहरुलाई अन्त्य गरि अगाडि बढ्न सक्नु पर्दछ । पत्रकारीतालाई विस्वस्त साथै जिवन्त राख्न पैसाको लेनदेन देखि आफुलाई टाढा नै राख्नु पर्छ । अहिले पत्रकारितामा राजनिति गाडिएको छ, यस्ले पेशाप्रति निश्पक्षताको क्षइ करण भएको छ ।
भनिन्छ, पत्रकारीता लोभको भाँडो हो, जुन पेशालाई राजा देखि रैती सम्मले लोभ गरेका हुन्छन् तर यस्को दुरुपयोग कहिल्यै नगर्नु ।




