भोजपुर– लम्पी स्कीन डिजिजका कारण पशुचौपाया थला पर्दै गएपछि कृषक तथा पशुपालकहरु समस्यामा पर्दै गएका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १,२, ५, ६, १०, र १४ मा लम्पी स्कीन डिजिजले पशुचौपाया अत्याधिक मात्रामा थलिएपछि किशान तथा पशुपालकहरु समस्यामा परेका छन् ।
यो रोग विशेष गरि गाई तथा गोरुमा लाग्ने भएकोले किशानहरु चिन्तित भएका छन् । खेतिको समयमा गाईगोरुमा रोग लागेपछि किशानहरु समस्यामा परेका हुन् । षडानन्द नगरपालिका वडा नं. ४ का खोम बहादुर घले भन्छन् रोगले गाईगोरुलाई सताको छ केहि गर्दा पनि हुँदैन खेतिको समय नजिकिदै छ । नगरपालिकाको भेट्नरी शाखाबाट क्वारेन्टाईनमा राख्नु भन्नु हुन्छ रोग लागेको मात्रै गाईवस्तु राख्दा पनि ठिक भएन ।
त्यस्तै अन्य किशानहरुको पनि समस्या उस्तै रहेको छ अझ यो रोगले चिसो ठाउँमा भन्दा तातो ठाउँमा भएको पशुचौपायाहरुलाई बढीमात्रमा ग्रसित पार्ने नगरपालिकाका भेट्नरी शाखा प्रमुख तुल बहादुर राईले बताए । नगरपालिकामा हालसम्म ५ हजार भन्दा बढी घरधुरी संख्याले गाईबस्तुमा रोग लागेको र उपचारको लागि माग गरेका छन् । ।
यो रोग झिँगा, लाम्खुट्टे र भाले किर्नाबाट सर्दछ त्यसैले यो रोगको नियन्त्रण त्यत्ति सजिलो ढंगबाट गर्न कठिन हुने भेट्नरी शाखाका कर्मचारी निरन राईले बताए । हरेक दिन विभिन्न वडामा यो रोगबाट थलिएका पशुचौपायाको उपचार तथा रोग नियन्त्रणमा लागिरहेको समेत राईले बताए ।
यो रोगको लक्षणहरुः
१) ज्वरो आउने
२) दुहुनो गाई भैँसीको दुध ८० प्रतिशतले घट्ने
३) कचेरा लाग्ने, सिँगान बग्ने
४) झोक्राउने, दानापानी नखाने दुब्लाउने
५) सतही लिम्फ ग्रन्थी ठुलो हुने
६) खुट्टा सुनिने खुट्टामा आउने गिर्खाले गर्दा हिँडडुल गर्न गाह्रो हुने
७) क्युटानियस गिर्खा २.५ से.मि ब्याससम्मको हुने । खासगरी टाउको, घाँटी, खुट्टा, कल्चौडो यौन अङ्गको वरपर यी गिर्खाहरु आउने ।








