अमेरिका, न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको अधिकारीले जनाएका छन्।

उनलाई उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। उनी मधुमेहका रोगी थिए। परिवारका सबै सदस्यको परीक्षण गरिएको र त्यसको रिपोर्ट मंगलबारसम्म रिर्पोट आउने जनाइएको छ। उनीहरू घरमै बसिरहेका छन्।

यस्तै, संक्रमित ४७ वर्षीय व्यक्तिले न्युयोर्कमा ट्याक्सी चलाउँदै आएका थिए। पारिवारिक स्रोतका अनुसार उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल लगिएको थियो। चार दिनमा फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिजनको मात्रा कम भएको र निमोनिया देखिएको जनाइएको छ।

अस्पतालले परिवारको स्वीकृतिमा नशाबाट दिइने सेन्टरलाइन औषधि चलाएको उनकी पत्नीले जनाएकी छन्। उनले उच्च रक्तचापको औषधि प्रयोग गर्दै आएका थिए।

अमेरिकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ। संक्रमितको संख्याका आधारमा अमेरिका तेस्रो स्थानमा देखिएको छ। यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय ४० पुगेको छ। संक्रमितको संख्या ३३ हजार ३ सय नाघेको छ।

न्युयोर्कमा सबैभन्दा धेरै १५ हजारभन्दा बढी संक्रमित देखिएका छन्। यहाँ १ सय १७ को मृत्यु भएको छ। वासिङटन, न्युजर्सी, क्यालिफोर्निया राज्यमा संक्रमितको संख्या १५ सयभन्दा बढी छ। अमेरिकाका सबै राज्यमा संक्रमण पुष्टि भएको छ। विश्वमा ३ लाख ३६ हजारभन्दा बढी संक्रमित छन्। १४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ। ९७ हजारभन्दा बढीको सफल उपचार भएको समाचारहरूमा उल्लेख छ।

तपाईको प्रतिक्रिया