धेरै ऋतुहरू यो बूढो घरको बाल्कोनीबाट

मलाई स्पर्श गरेर गुज्रिएका छन्।

नछोएको त तिमीले मात्रै हो ऋतु

किन प्रकृतिमा ऋतु जस्तै सन्तान फर्किने नियम छैनरु

यो मेरो सयन कक्षभित्र

धुलाम्य भएर बसेको छ तिम्रो पास्नीको तस्वीर

एकचोटि मात्र एकचोटि आएर धूलो पुछेर जाउँ

मेरो दृष्टि बन्द हुनुभन्दा पहिले

म तिमीलाई हेर्न चाहन्छु ऋतु।

तिम्रो बाबाले ल्याएको क्लासिक घडी

तिमी आउने पछिल्लो समयको घोषणामा

अवरूद्ध भएर झुण्डिएको छ

यो स्थिर समयस तिम्रो आगमनले चलायमान होस्

हाम्रो बगैंचाको त्यो आँपको वृक्ष

जहाँ तिमीलाई आँप खुवाउँथें म

आज बूढो भएको छ म जस्तै

थोती,कुप्री,उजाड, उदास छ

गुँड लगाएर बसेका जुरेली पनि बसाइ सरिसके

ढल्नुभन्दा पहिले त्यो वृक्ष आएर समापन गरिदेउ ऋतु।

सास त चलेकै छ ऋतु

यो आशाको आश मर्दैछ

सास चल्नुमात्रै पनि जीवित हुनु रहेनछ

आश नभएको जीवनको अनुराग भएन।

कुनै दिन तिम्रो व्यस्त समयमा

यो आशा तिम्री आमालाई सम्झियौ भने

धेरै त केही भएको हुनेछैन

मेरो माशंपेशीहरू गलिसकेका हुनेछन्

अस्थीहरू तिम्रो स्वागतमा तत्पर रहनेछ।

मेरो हातमा एउटा चिठी हुनेछ

जसमा लेखिएको हुनेछ

मेरो अन्त्येष्टिमास मेरो अस्थी सँगै तिम्रो पश्चताप जलाइदिनु

तिमी दुखी भएको हेर्न सक्दिनँ

यो बूढो घर बेचिदिनू

र तमाम त्यी व्यस्त सन्तानहरूलाई पारिश्रमिक स्वरूप दिनू

जसले आमालाई जीवित भेटिदिएर आफ्नो कर्तव्य पूरा गर्नेछन्

अन्त्यमा मैले तिमीलाई सिकाउन बिर्सेको जीवनज्ञान

तिम्रो सन्तानलाई सिकाउनू

पैसाभन्दा ठूलो ममता र करूणा हो

तिम्री आमा आशा साहनी।

तपाईको प्रतिक्रिया