
संखुवासभा, खाँदबारी नगरपालिका अन्र्तगतको सामुदायिक विद्यालयहरुलाई खाँदबारी नगरपालिकाकाले प्राथमिक उपचार किट बक्स वितरण गरेको छ । विद्यालयमा हुने दुर्घटनाहरुको स्थलगत उपचारका लागि नगरका ४३ वटा सामुदायिक विद्यालयलाई प्राथमिक उपचार बक्स वितरण गरिएको खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुख दिपकमणि घिमिरेले जानकारी दिए ।
सेनेटरी प्याड सहितका प्राथमिक उपचारका सामाग्री वितरण गरिएको शिक्षा शाखा प्रमुख घिमिरेले बताए । नगरभित्रका प्रधानाध्यापकहरुको मासिक बैठकको अवसरमा मंगलबार प्राथमिक उपचारका सम्पुर्ण सामाग्री सहितको किट बक्स वितरण गरिएको हो । सो बक्समा सेनेटरी प्याड, सिटामोल, आँखामा लगाउने मलम, बान्ता रोक्ने औषधी लगायतको औषधी रहेको छ ।
नगरपालिका कार्यालयले खरिद गरेको प्राथमिक उपचार बक्सको मुल्य १० हजार रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ । प्राथमिक उपचारमा सहज गराउनका लागि प्रत्येक विद्यालयलाई नगर आफैले औषधी सहितको प्राथमिक उपचारको किट बक्स खरिद गरेर वितरण गरेको हो ।







