काठमाडौं, आउँदो साउन ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाइएको छ।
सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकार फिचर्ड छन्। आर्यन सिग्देललाई ट्रेलरमा दुई गेटअपमा देख्न सकिन्छ भने उनले ‘हजार जुनीसम्म’ पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा केन्द्रित छ।
ट्रेलरमा स्वस्तिमा खड्का, सलोन बस्नेत, सञ्चिता लुइँटेल, शिवहरि पौडेल, अखिलेश प्रधान र अनुभव रेग्मी पनि फिचर्ड छन्। नाइँ नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ। निर्देशक आचार्यले फिल्मको पटकथा सामीप्यराज तिमल्सेनासँगको सहकार्यमा तयार पारेका हुन्।
कार्यक्रममा सम्पूर्ण कलाकार उपस्थित भए पनि निर्देशक आचार्य भने उपस्थित थिएनन्। पछिल्लो समय अस्वस्थ भएपछि चिकित्सकको सल्लाहअनुसार उनी भीडभाडमा नदेखिएका हुन्। उनको प्रतिनिधित्व गर्दै पटकथाकार सामीप्यले यो पूर्ण रूपमा फ्यामेली ड्रामा भएको बताए। ‘हामीले स्टारडमको आधारमा भन्दा पनि कथानुसार फिल्मका लागि कास्ट गरेका छौं’, उनले भने। उनका अनुसार फिल्म पूर्ण रूपमा पारिवारिक छ र यसले हाम्रै वरपरको कथा वाचन गरेको छ।
कार्यक्रममा उपस्थित नायक आर्यनले यसले नेपालको सुन्दरतालाई पनि समेटेको बताए। ‘पोखराबाट सुरु गरेको छायांकन सिक्किमसम्म पुगेको छ त्यसैले यसले हाम्रो सुन्दरतालाई समेटेको छ’, उनले भने, ‘यो फिल्मको रोल मैले गरिरहेको जस्तै भए पनि प्रस्तुतिका हिसाबले फरक छ।’ उनले आफूभन्दा २० वर्ष बढी उमेर देखिँदा केही कठिनाइ भएको बताए।
यसैगरी स्वस्तिमाले पनि फिल्मले दर्शकको मन छुने बताइन्। गत वर्षकी नेसनल अवार्ड विनर अभिनेत्रीले फिल्मले पारिवारिक कथा समेटेको बताइन्। यसैगरी सलोनले आर्यनको अभिनयले आफूलाई ज्यादै नै प्रभावित बनाएको बताए। यसै फिल्म मार्फत डेब्यु गर्न लागेका अखिलेशले आफूले सक्दो मेहनत गरेको प्रस्ट्याए।
चाइल्ड स्टार अनुभवले नाइँ नभन्नु ल सिरिजभन्दा बाहिर रहेर काम गर्दा छुट्टै अनुभव भएको बताए। ‘यसले माया प्राप्तिको कथा देखाउँछ’, उनले भने। ट्रेलर रिलिजमा कार्यकारी निर्मात्री कविता रेग्मीले फिल्म बिनासम्झौता तयार परिएको बताइन्। फिल्ममा कविराज गहतराजको नृत्य, उदयराज सोताङ, राजनराज शिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको संगीत, अर्जुन जीसीको सम्पादन छ।




