बाटो जतिसुकै अप्ठ्यारो किन नहोस्, अझ अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा गोरेटोमा नै पाइला नाप्न किन नपरोस्रु यात्राको उत्कर्षमा टेकेपछिको असीम आनन्दका तुलनामा ती सबै फिक्का लाग्छन्। कठिनाइले छेकिँदैन गन्तव्य।
यात्रामा निस्किएको पाँचौ दिन, असार १२ गते फोक्सुन्डो ताल पुग्दा निकै प्रफुल्लित थियो मेरो मन। चट्टाने पहाडले काँखमा सुमसुम्याउँदै राखेको विशाल र गहिरो निलाम्मे ताल। प्रकृतिले रचेको एउटा अद्भूत कला। मानौं, भौगोलिक विकटता पनि गौण छ, तालको चामत्कारिक सौन्दर्य सामु।
डोल्पाको विकटतासँगै त्यहाँको सौन्दर्य र सम्भावना लेखनमार्फत् उजागर गराउने अभिप्रायले १५ जना कवि, लेखक र पत्रकारको टोलीलाई ‘कन्सेप्ट नेपाल’ले फोक्सुन्डोसम्म यात्रा गराएको थियो यसपालि। यसै संयोगमा जोडिन पाएँ म पनि। अविस्मरणीय र अर्थपूर्ण त बन्यो नै यात्रा, उत्तिकै सुखद र सुन्दर पनि। यात्राको परिकल्पना र संयोजन गर्ने पत्रकार अमृत भादगाउँले सबैका हाइहाइ भए। पछिल्लो समय उनको दखल पर्यटन पत्रकारितामा छ।
काठमाडौंबाट नेपालगन्ज गाडीमा जाने, त्यहाँबाट डोल्पाको जुफालसम्म प्लेन अनि पदयात्रा गरेर फोक्सुन्डो पुग्ने यात्रातालिका मौसम प्रतिकूलताका कारण थोरै फेरबदल भयो। नेपालगन्ज पुगेर थप एक दिन कुर्दा पनि हवाइ मार्ग सम्भव भएन। त्यहाँबाट डोल्पाको सुलिगाडसम्म गाडीमै हुइँकिनुपर्यो।
गाडीवालाले भाडा आफूखुसी उठाउँदै हिँड्दा यात्रुलाई पर्ने मार त छँदैछ। चिसापानीबाट झोलुङ्गे पुल तरेर चामखेतपुग्दा रिजर्भमा जान एउटा जिप फेला पर्यो। त्यसमै चढेर बास बस्ने ठाउँ जाजरकोटमा पर्ने तल्लुबजार पुग्दा रातको १० बजिसकेको थियो। भोलिपल्ट सबेरै त्यहाँबाट ठूलीभेरी माथिको झोलुङ्गे पुल तरेर गोतामकोट पुग्छौं। गोतामकोटबाट गाडीमा जाँदा त्रिवेणी भन्ने ठाउँ कटेपछि साङ्ग्ले घट्टबाट डोल्पा जिल्ला सुरु हुन्छ।
गोतामकोटदेखि झन्डै ३ घन्टा लाग्छ करबगाड पुग्न। त्यहाँ फेरि ओर्लिन्छौं र पारि तरेर त्रिपुराकोटतिर लाग्छौं। कच्ची बाटो त हो, झन्डै डेढघन्टा लगाउँछ त्रिपुराकोट पुर्याउन जिपले। त्यहाँबाट झोलुङ्गे पुल तरेर पारिपट्टि अर्को जिप समात्दा बल्ल दिउँसो २ बजे रूपगाड पुग्छौं। गाडीको सुविधा यहीँसम्म मिल्छ। रूपगाडबाट १५ मिनेट जतिमा हिँडेर सुलिगाड पुग्छौं। अब यसपछि गन्तव्य नपुगुन्जेल बाँकी यात्रा खुट्टाकै भरमा।




