मोरङ, मोरङका धेरै ठाउँमा बाढीका कारण क्षति भएको छ । कतै खोला खेतमा पसेको छ भने कतिपय ठाउँमा बस्तीमा पानी पस्दा त्यहाँका बासिन्दा बिस्थापित भएका छन् ।
गएरातिदेखिको वर्षाका कारण चिसाङ खोलामा आएको बाढीले मोरङको कानेपोखरी गाउँपालिका –५, दुःखीटोल कटान गरेको छ । कटानको जोखिममा परेका ७ घर परिवारका ३२ जनालाई भंसावारी प्रा।वि। सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै उर्लाबारी नगरपालिका–३, मंगलबारेमा बक्राहा खोलामा आएको बाढी धान खेतमा पसेको छ । खोला धान खेतमा पसेपछि सयौँ बिगाहा धान खेत बगाएको छ ।यस्तै मोरङकै मिक्लाजुङ गाउँपालिका–२, कुवापानी बस्ने रनकुमार राईको घर पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
यता बिराटनगर महानगरपालिमा केशलिया खोला गाउँ पसेको छ । गएको वर्ष बाँध फुटेर गाउँ पसेको केशलिया खोला यो वर्ष पनि गाउँ पसेको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताउनुभयो । मेयर पराजुलीका अनुसार बिराटनगर महानगरपालिका –६ बाट खोला गाउँ पस्दा महानगरका वडा, ६ र १२ का करिब ४५ घर डुबानमा परेका छन् ।
यस्तै बिराटनगर–१२, सिम्राही टोलको मुसहर बस्तीका करिब १० घरका परिवारलाई उद्धार गरी बखरी प्रा।वि।मा सारिएको मेयर पराजुलीले बताउनुभयो ।




