काठमाडौं, कोरोना महामारीको त्रासमा बितिरहेको लकडाउनको समयलाई रमाइलो र आशावादी बनाउने उद्देश्यका साथ टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’ निर्माण गरेको एस आर बी एन मिडियाले ‘रन्डेभु विथ सम्पदा’ नामक कार्यक्रम सुरु गरेको छ। लेखिका तथा सिनेकर्मी सम्पदा मल्लले सञ्चालन गर्ने यो कार्यक्रममा देशका विभिन्न क्षेत्रका दिग्गज र चर्चित व्यक्तित्वसँग लकडाउनले उनीहरूको जीवनशैलीमा पारेको प्रभावको विषयमा भलाकुसारी गरिनेछ।
‘हामीले लकडाउनकै समयमा मझेरी नामक लकडाउन कविता प्रतियोगिता आयोजना गर्यौं। त्यसैको सफलताले यो कार्यक्रम गर्ने हौसला दियो। अहिले लकडाउनको समयमा हामीलाई मन पर्ने सेलिब्रेटीले कसरी समय काटिरहेका होलान् भन्ने कौतुहल सबैमा छ। यही आइडियाले यो कार्यक्रम जन्मायो’, एस आर बी एन मिडियाकी क्रिएटिभ डिरेक्टर सुरक्षा अधिकारी भन्छिन्। यो कार्यक्रममा पाहुनाका रूपमा चर्चित व्यक्तित्वहरू दीपकराज गिरी, दीपा श्री निरौला, अनिलकेशरी शाह, माल्भिका सुब्बा, गौरी मल्ल, गौरिका सिंह, आसिफ शाह, सुरज सिङ ठकुरी, सत्य स्वरूप, अनुप बराल, दिया मास्के, विपिन कार्की आदि हुनेछन्।
‘लकडाउनको समयमा सबैले आफ्नो घरबाटै इन्टरनेटको माध्यमबाट अन्तर्वार्ता दिइरहेका छन्। यो आफैंमा एउटा नयाँ प्रयोग हो र डिजिटल क्रान्तिको थालनी पनि। लकडाउन सकिएपछि पनि आजको व्यस्त समयमा यस्तो नयाँ प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, एस आर बी एन मिडियाका आइटी हेड रिवाज घिमिरेले भने। सम्पदाले भने कार्यक्रमले घरको मोनोटोनस दैनिकी तोड्न मात्र होइन नयाँ उत्साह सञ्चार गर्नमा पनि सघाउने आशा व्यक्त गरिन्।
‘यो लकडाउनले धेरै मानिसमा नकारात्मक भावना पैदा भइरहेको छ। यो कार्यक्रमले सबैलाई हाँसो, उत्साह र प्रेरणा दिन सके यो कार्यक्रम सफल भएको ठान्नेछु’, कार्यक्रमकी सञ्चालिका र कार्यकारी निर्माता सम्पदा मल्लले भनिन्। यो कार्यक्रम एस आर बी एन मिडियाको गुन्द्रुक युट्युब च्यानलमा हरेक दिन प्रसारण हुनेछ।




