संखुवासभा, वडा कार्यालय र स्काभेक्टर आगजनीको घटनाप्रति नगर प्रमुखले भत्र्सना गरेका छन् । गत मंसिर २५ गते राति संखुवासभाको मादी नगरपालिका वडा नम्बर–५ को कार्यालय र स्काभेटर अज्ञात समूहले आगजनी गरेका थिए । मादी नगरपालिका मेयर विदुर सुब्बाले आगजनी गरेको घटनाप्रति विज्ञप्ती मार्फत भत्र्सना गरेका छन् ।
अज्ञात समूहले गरेको आगजनीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ । यो अमानवीय आपराधिक एवं कारयतापूर्ण कार्यको घोर भत्र्सना गर्दे अपराधिक कार्यमा संम्लग्नलाई कानुनी दायरमा ल्याई कडा भन्दा कडा कार्रवाहि गर्न माग समेत गरेका छन् ।
जनप्रतिनिधिलाई मानसिक दबाव दिएर कमजोर बनाउने र जनताको सेवाबाट विमुख बनाउने मनसायले घटना घटाए पनि सम्पूर्ण जनप्रतिनिधि मिलेर प्रतिरोध गर्दै जनताको सेवामा निरन्तर खटिइ रहने प्रतिबद्धता विज्ञप्तीमा ब्यक्त गरेका छन् ।
अज्ञात समूहले वडा नम्बर –५ को कार्यालय, स्काभेटर र एक मोटरसाइकल आगजनी गरेका थिए। आगजनीबाट २ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, प्रीन्टर लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । वडा कार्यालय छेउमा रहको मे ५ प ४८१० नम्बरको मोटरसाईकलमा समेत आगजनी भएको थियो ।
आगजनीबाट वडाले कार्यालय सञ्चालनका लागि भाडामा लिएको चेतनाथ दाहालको घर जलेर नष्ट भएको थियो । अज्ञात समूहले सोही दिन राती मादी ओखरबोटे सडक खण्डको काम गर्दे गरेको स्काभेटरमा आगो लगाएका थिए । आगलागिबाट बज्रगुरु निमार्ण सेवा कम्पनीको बा २ क ९५०७ नम्बरको स्काभेटर पूर्ण रुपमा जलेको हो ।
घटनामा संलग्न २ जना पक्राउ
प्रहरीले आगजनीको घटनामा संम्लग्न रहेको आरोपमा दुई जना ब्यक्तिलाई पक्राउ गरेको स्रोतको भनाइ छ । प्रहरीले घटना स्थल नजिकैको गाउँबाट राजेश देवान सहित अर्को एक जना पक्राउ गरेको स्रोतको भनाइ छ ।
प्रहरीले पक्राउ पर्नेको पहिचान भने अहिलेसम्म खुलाएको छैन । वडा कार्यालय र स्काभेटर आगजनी घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । प्रहरीले घटनाको बारेमा केही बोलेको छैन ।
source : rajdhanidaily.com




