भक्तपुर, भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लकडाउनको समयमा पनि डायलसिसका बिरामीलाई सेवा दिइरहेको छ । लकडाउनका कारण सुरुका दिन डायलाइसिसको समय घटाएको भए पनि अहिले केन्द्रले नियमित सेवा दिइरहेको छ । ३० वटा डायलसिस मेसिनबाट सेवा दिइरहेको केन्द्रमा अहिले दैनिक ७५ जना मिर्गौलाका बिरामीले डायलाइसिसको सेवा लिइरहेका छन् ।

दैनिक तीन सिफ्ट गरेर मिर्गौलाका बिरामीहरुको डायलसिस गर्दै आएको केन्द्रले जनाएको छ । अहिले केन्द्रका चिकित्सक तथा नर्सहरुको आलोपालो गरेर सेवा दिइरहेका छन् । लकडाउनको दुई हप्ता पर्याप्त सामान मौज्दात नहुने डायलसिसको समय घटाइएको थियो ।

तर अहिले सबै व्यवस्थापन गरेर सबै बिरामीको तीनपटक नै डायलसिस गर्ने गरेको केन्द्रकी नेफ्रोलोजी विभाग प्रमुख डा। कल्पना श्रेष्ठ जानकारी दिनुभयो । केन्द्रमा डायलसिस गराउने प्रतीक्षासूचीमा भने एक सय ८७ बिरामीहरु रहेको अस्पतालले जनाएको छ । केन्द्रमा अन्तरंग र शल्यक्रिया बाहेकका सबै सेवा लकडाउनको समयमा पनि सञ्चालनमा रहेका केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

केन्द्रमा आकस्मिक डायलसिस गर्नुपर्ने बिरामीहरु पनि आउने गरेका छन् । दिनमा पाँचदेखि सात जनासम्म आकस्मिक डायलसिस गर्नुपर्ने बिरामी आउने गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

केन्द्रमा मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेका बिरामी तथा दाता बिरामीहरुलाई दिनुपर्ने आकस्मिक उपचारसमेत नरोकिएको उहाँले बताउनुभयो । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउन लम्बिँदा मिर्गौला बिरामीहरु प्रभावित हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया