खाँदबारी नगरपालिका क्षेत्रभित्र वडाध्यक्षले आपत्ति जनाइरहेको भएपनि निर्माणकर्ताले बलमिच्याइ काम गरिरहेको गुनासो आएको छ । खाँदबारी नगरपालिका वडा नं। १० स्थित चाँबोटेमा नेपाल बिद्युत प्राधिकरणको सवस्टेन निर्माणमा बलमिच्याई भईरहेको वडाध्यक्ष केशवराज सिँ थापाले जानकारी गराएका छन् । भौतिक संरचना निर्माणका क्रममा ठेकेदार कम्पनीले जथाभावी नदीजन्य ढुङ्गा, रोडा, बालुवा उठाएपछि स्थानीयले आपत्ति जनाएको र वडाध्यक्षसमेतको रोहवरमा काम नगर्न भन्दासमेत बलमिच्याई भईरहको वडाध्यक्ष थापाले बताए ।
“लकडाउनको समयमा समेत रातदिन नभनी काम गरिरहेका छन् । २ वटा डोजर र १० वटाभन्दा बढी ट्याक्टरहरु काममा खटाइएका छन् ।” वडाध्यक्ष थापाले भने । “खाँदबारी–१० तर्फ लगातार २ महिनायता बगर उठाईरहँदा नदीको वहावले क्षती पु¥याउँने स्थानीयको गुनासो लिएर मेयर सा’बसम्म पुगियो तर मेयरले इजाजत हेरेर मात्र जवाफ दिने भनेपछि नदीबगर आसपास थप क्षती हुन नपाओस् र काममा पारदर्शीता आओस् भनेर मैले मिडियामा जानकारी गराएको हुँ ।”
नदीजन्य पदार्थ उत्खनन् भईरहँदा खाँदबारी–१० को चाँबोटे बेसी र कुडुले बेसीमा करिब १ हजार २ सय रोपनी जमिन जाखिममा परेको १० नम्बर वडा कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार करिब साढे ३ करोड रुपैया बजेटको योजनामा चन्दनपुर–सित्तलपाटी सवस्टेसन निर्माण कार्यको लागि चाँबोटेमा रौता एस।ए।एस। जेभी नामको ठेकेदार कम्पनीले कामको जिम्मा लिएर चकाभक काम गरिरहेको हो ।
रौता एस।ए।एस। जेभीका इन्चार्ज धन कुमार राईले भने, “यो कम्पनीले बालुवा, रोडा र ढुङ्गा ढुवानी गर्दा नदीबगरको ठेक्का पार्ने ठेकेदार कम्पनी आकाश कन्ट्रक्सनलाई बालुवामा प्रतिट्याक्टर २ सय ५० रुपैया र ढुङ्गामा ३ सय रुपैया कर तिरेर आधिकारिकरुपमा काम गर्दै आएको छ ।” आकाश कन्स्ट्रक्सनका सुमन श्रेष्ठले भने, “यतिवेला लकडाउनको समय भएकोले खोला बगरमा हाम्रा कोही व्यक्ति र कुनै उपकरणहरु काममा छैनन् । यद्यपी एकान्त ठाउँमा काम गर्न वाधा नपर्ला ।”
खाँदबारी नगरपालिका वडा नं। १० का अध्यक्षलाई बाटो खनिदिने भनेर भुल्याउँदै बगर उत्खनन् गरिरहेको र कुन कम्पनीले के कामको लागि बगर उत्खनन् गरिरहेको भन्ने समेत वडालाई जानकारी नगराएको वडाध्यक्ष थापाको भनाई छ । निर्माणकर्ता कम्पनीले जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार लकडाउनको समयमा काम गर्न मिल्ने बुझेर काम गरेको बतायो । काममा नयाँ कामदार थपिएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले भने, “चलिरहेको निर्माण कार्यका लागि काम गर्न दिने र ढुवानीमा समेत सहजिकरण गरिदिने गृह मन्त्रालयको निर्देशन रहेकोले सोअनुसार गर्न्गराउँन भनिएको हो ।” नेपाल बिद्युत प्राधिकरणको चन्दनपुर–सित्तलपाटी सवस्टेसनअन्तर्गत यसअघि नै २ सय २० रोपनी जमिन अधिग्रहण गरेर २०७८ साल कार्तिक १८ गतेभित्र निर्माण कार्य पुरा गर्ने गरी काम भईरहेको ठेकेदार कम्पनीले जनाएको छ ।
त्यहाँ यतिवेला बाउन्ड्री वाल निर्माण भईरहेको हो । निर्माणका क्रममा ठेकेदार कम्पनीले खाँदबारी–९ मा रहेको क्रसरबाट गिट्टी ढुवानी गरिरहेका छन् । रोडा र ढुङ्गा खाँदबारी–१० को कुडुले बेसी र कुडुले घाटबाट उठाइरहेको बताइएको छ । कम्पनीले बालुवाभने खाँदबारी–२ को बेतिनी बगरबाट उठाएको स्थानीयले बताए ।
लकडाउनको समयमा खानीको ढुङ्गा किन्नुपर्ने झण्झट नहोस् भन्ने हेतुले करछली गर्दै बगर सोहोर्ने काम भईरहेको हुनसक्ने १० नम्बर वडा कार्यालयले आरोप लगाएको छ । यसबीचमा नदीको बहावले क्षती पु¥याउँने भनिएका स्थानीयले वडा कार्यालयमा लिखित निवेदन नगरी मौखिक उजुरी मात्र गरेको वडाध्यक्ष थापाले भनेका छन् ।







