संखुवासभा, संखुवासभामा सापु रोगका एक जना बिरामी भेटिएका छन् । खाँदबारी नगरपालिका २ चेवाकी सलिना बराललाई सापु लागेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले बताए । १ वर्षीय बराललाई आँखामा समस्या भएपछी २० गते उपचार केन्द्रमा उपचार गर्न ल्याइएको थिायो ।
सापु रोग प्रमाणित भएपछि तुरनतै रेफर गरी टिचिङ अस्पताल महाराजगञ्ज काठमान्डौं पठाइएको इन्चार्ज बरालले बताए । द्दिचिङ अस्पतालमा सोही दिन राती नै बरालको सफल शल्यक्रिया भएको उनका बुबा बलराम बरालले बताए । सेतो पुतलीका कारण हुने सापु रोग संखुवासभामा यस अघि नै ७ जनामा देखा परिसकेको छ ।
ती मध्ये एक जनाको उपचारमा ढिलाई हुँदा आँखाको ज्योती नै गुमाउनु परेको इन्चार्ज बरालले बताए । सापुका कारण खाँदबारीकी स्मृति घिमिरे, चैनपुरका युविका शाक्य, सिलिचोङ बालाकी स्मृति कुलङ र भूमिका कुलुङलगायत सातजनालाई सापु लागेको भेटिएको थियो ।
साढे चार दशकदेखि सापु रोग
सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने रोगलाई सापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) भनिन्छ । सापु भएपछि ४८ घन्टाभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् ।
यो रोग पहिलोपटक पोखरामा देखिएको चिकित्सक बताउँछन् । २०३२ सालमा १६ वर्षमुनिका बालबालिकामा यो रोग डा. मदनकुमार उपाध्यायले पत्ता लगाएका थिए ।
उपाध्यायले लामो अनुसन्धानपछि यो रोगलाई ‘सापु’ नाम दिएका थिए । पोखराबाटै यो रोग विस्तार भएर पूर्व संखुवासभासम्म आइपुगेको तेजरत्न आँखा तथा कान रोग उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालको भनाइ छ ।
उनका अनुसार यो रोग लाग्दा आँखा अचानक रातो हुँदै जान्छ र नानीमा सेतो दाग देखिन थाल्छ । त्यसपछि उज्यालोमा हेर्न गाह्रो हुन्छ र कम समयमै आँखाको ज्योति कमजोर हुन्छ ।
४८ घन्टाभन्दा ढिलो गरी अस्पताल पुगे उपचार सम्भव नहुने चिकित्सकहरु बताउँछन् । सेतो पुतलीको सीधा संसर्गबाट मात्रै नभई पर्दा, सिरक, तौलिया आदिमा पुतलीको झुस खसेको छ र आँखामा पर्यो भने पनि यो रोग लाग्छ ।







