काठमाण्डौ, भारतले नेपाली भूमि हुँदै लिपुलेक जोड्ने सडक उद्घाटन गरेकोप्रति नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अक्ष्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भारतको कदमले नेपालको सार्वभौमिकतालाई कमजोर दृष्टिले हेरेको भन्ने नेकपाको निष्कर्ष भएको बताइएको छ ।
नेकपाले नेपाल र भारतबीचको सुमधुर सम्बन्धमा विश्वास गर्ने विज्ञप्तिमा बताइएको छ– जुन सार्वभौम समानता, क्षेत्रीय एकता, आपसी सम्मान र लाभमा आधारित हुन्छ ।
विश्वका मानवले कोरोना भाइरसको महामारीको सामना गरिरहेको बेला भारतको तर्फबाट यस्तो कदम चाल्नु दयनीय भएको नेकपाले ठहर गरेको छ ।
सबै ऐतिहासिक तथ्य र आधार, सुगौली सन्धि अनुसार काली ९महाकाली० नदीको पूर्वतिर रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक पनि नेपालको भूमि रहेको स्पष्ट हुने विज्ञप्तिमा भनिएको छ । यही तथ्यलाई नेपाल सरकारले दोहोर्याउँदै आएको र सन् २०१५ मे १५ तारिखमा भारत सरकारलाई कुटनीतिक नोटमार्फत पनि अवगत गराइएको विज्ञप्तिमा समावेश छ ।
‘सीमा विवाद अन्त्य गर्न नेपाल सरकारले कुटनीतिक पहलका लागि गर्दै आएको प्रयासलाई नेकपाले समर्थन गरेको छ’, विज्ञप्तिमा भनिएको छ । साथै नेकपाले तत्काल सीमा विवाद अन्त्य गर्न दुवै देशले कुटनीतक पहल गर्न जोड दिएको छ ।
भारतले नेपाली भूमिमा पर्ने लिपुलेक हुँदै मानसरोवरसम्मको सडक निर्माण कार्य सुरु गरेको समाचार बाहिरिएपछि नेपालका विभिन्न पार्टी तथा जानकारहरुले विरोध गर्दै कुटनीतिक पहल खोज्न आग्रह गरिरहेका छन् । त्यस क्षेत्रमा तत्काल सडक निर्माणको काम रोक्न र यो विषयलाई थप गम्भीर बनाउने काम नगर्न नेकपाले आग्रह गरेको छ ।




