काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरा बढेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यताको धज्जी उडाएको टिप्पणी गरिन् ।

‘न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले होइन, प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य सिर्जना गरिंदैछ,’ उनले भनिन् ।

सरकारलाई प्रश्न गर्दै आफ्ना निर्णयमाथि उठ्ने प्रश्नहरूबाट भाग्न खोजेको कायरताको प्रमाण अध्यादेश हो? भन्दै प्रश्न समेत गरिन् ।

‘संसद् आह्वान भइसकेपछि त्यसलाई स्थगन गर्दै अध्यादेश ल्याउन सरकार आफ्ना निर्णयमाथि उठ्ने प्रश्नहरूबाट भाग्न खोजेको कायरताको प्रमाण हो? यो अध्यादेशको शृङ्खला यतिमै रोकिन्न,’ उनले भनिन्, ‘अध्यादेशको कार्यान्वयनसँगै प्रधानन्यायाधीश सिफारिस जसरी गरियो, त्यसले इतिहासमै पहिलोपटक स्थापित मान्यताको धज्जी उडाएको छ ।’

तपाईको प्रतिक्रिया