अनगिन्ति भावनात्मक अन्तरद्वन्द्वहरू छिचोल्दै समयको अविछिन्न प्रवाहसँगै जीवन गतिशील हुँदो रहेछ।
समयको कुनै पनि बिन्दुमा जीवनको सजिलो र स्पष्ट परिभाषा कहिल्यै भेटिँदो रहेनछ। कहिले स्वस्फूर्त रूपले कल्पनाका सुन्दर बगैँचाहरूमा त कहिले कठोर यथार्थमा जीन्दगीका यात्राहरू निरन्तर अघि बढिरहँदा रहेछन्।
मलाई लाग्छ यात्राका यिनै भिन्न भिन्न भोगाइ र अनुभूतिहरूमा नै संवेदनाका फरक(फरक रंगहरू जीवन्त हुँदा रहेछन्। अनि यिनै रंगहरूमा जीवन फुल्ने र झर्ने गर्दो रहेछ। केही वर्ष अगाडि संयुक्त राष्ट्र संघीय शान्ति मिसन हाइटीमा नेपाल प्रहरी संगठनको तर्फबाट छनोट हुन पाउँदा म अत्यन्तै उत्साहित थिएँ।
संगठन र देशकै प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फोरममा विकसित मुलुकका प्रहरी अधिकारीहरूसँग कार्य गर्न पाउने मेरो लागि त्यो एउटा सुनौलो अवसर थियो। तर त्यो जति रोमान्चक थियो त्यति नै चुनौतीपूर्ण पनि।
एकातिर मिसनको परीक्षाको सफलतामा म खुसीले गदगद थिएँ भने अर्कोतिर आफ्ना प्रियजनहरूलाई छोडेर पृथ्वीको अर्कै गोलार्धमा एक वर्षसम्म बस्नुपर्ने कुरा सम्झिँदा भने अत्यास लाग्थ्यो। हामी काठमाडौंबाट हाइटीको राजधानी पोर्ट ओ प्रिन्सतर्फ प्रस्थान गर्ने दिन पनि आयो।
हुन त बिछोडको पल त्यसै पनि भारी हुने नै भयो, त्यसमाथि पनि बाटो लाग्ने बेलामा प्रीयजनहरूका टिलपिलाएका नजरले त फलामे सुइरोले जस्तै घोप्दा रहेछन्। तर एउटा निष्ठावान् र कर्तव्यप्रति समर्पित सिपाहीको दृढ आत्मविश्वास र गहिरो समर्पणले जस्तो सुकै भावनात्मक विचलनलाई पनि परास्त गर्दो रहेछ। सायद त्यसैले होला मनमा केही पीडा र हिच्किचाहट बाबजुद पनि म चट्टान जस्तै अविचलित र दृढ थिएँ।
हुन त म आफूलाई त्यति अन्धविश्वासी पनि ठान्दिनँ तर पनि अघिल्लो दिनमात्र आशोच९जुठो० परेकोले घर छोड्ने बेलामा निधारमा साइतको रातो टीका र मान्यजनको आशिष समेत थापेर हिँड्न नपाउँदा भने खल्लो लागिरहेको थियो। किनकी बाटाको ढुङ्गालाई समेत देउताको रूपमा पूजा गर्ने हामीलाई त्यति टाढाको यात्रामा आफ्ना ईष्ट देवताहरूलाई ढोगेर समेत हिँड्न नपाउँदा केही अनिष्ठको शंका(उपशंकाहरू मनमा उब्जनु स्वभाविक कै थियो।
हिँड्ने बेला घर नजिकैको श्वेत गणेश, माता मनकामना र ईष्ट देवताहरूलाई मनमनै पुकारेँ तर पनि आफूभित्रको अनिश्चय र चिन्ताबाट भने मुक्त हुन सकेको थिइनँ। त्यसैले उमङ्ग र केही सन्त्रासको दोधारे मानसिकतामा म घरबाट हाइटीको लागि बिदा भएको थिएँ।
जहाज चढ्ने बेला हुँदै थियो, यसो पछाडि फर्कें मेरी जीवन संगिनी मैले नदेख्ने गरी आँचलले सुटुक्क आँसु पुछिरहेकी थिइन्, उनका टिलपिलाएका आँखाहरूमा मैले धेरै बेर हेरिरहन सकिनँ। फेरि नानीहरूतिर फर्कें तिनीहरूलाई अंगालो हालेँ अनि मनमनै परिवारको सुख शान्ति एवं मेरो सम्पूर्ण भविष्य श्री पशुपतिनाथ र माता मनकामनालाई समर्पित गरेर चुपचाप बाटो लागेँ।
साँझको करिब ६ बजे हामी सबै साथीभाइहरू आबुधाबीतर्फ उड्नको लागि इत्तिहाद एयरलाइन्सको जहाजमा थियौं, हामीमध्ये धेरैका आँखा त्यतिबेलासम्म पनि ओभाएका थिएनन्। भर्खरै घरबाट बिदा भएका हामी सबैको मनमा करिब(करिब उस्तै खाले अनिश्चय, कौतुहलता र चिन्ता भएकाले पनि होला सबै चुपचाप थियौं।
केहीबेरमै जहाज जमिन छोडेर ३८ हजार फिटको उचाइमा आकासियो र हाम्रा भावनाहरू पनि त्यसैको बेगसँगै बतासिँदै गए। जहाज उडेको केहीबेरमै निदाएछु थाहै भएन। ब्युँझिदा करिब ५ घण्टाको यात्रा तय गरी हामी आबुधावी विमानस्थलमा अवतरण भइसकेका थियौं।
आबुधाबी एयरपोर्ट अत्यन्त विशाल र भव्य थियो। त्यहाँको अत्यन्त राम्रो व्यवस्थापन, व्यवसायिक कार्यशैली र उपकरण देखेर म आश्चर्यचकित थिएँ किनकि मैले जीवनमा यी सब पहिलो पटक देखेको थिएँ।
हाम्रो देशको एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट तुलना गर्दा आकाश जमिनको फरक महशुस भयो। अनि सोचेँ “ विकासका दृष्टिले दुनियाँले हामीलाई कति शताब्दी पछाडि छोडिसकेको रहेछ। ’
आबुधाबीमा हतार(हतार चेकिङ सकेर हामी अमेरिकन एयरलाइन्सको विमानबाट न्युयोर्कका लागि उड्यौं। उडेको करिब १७ घण्टापछि हामी न्युयोर्कको जोन एफ केनेडी एयरपोर्टमा अवतरण गर्यौं। अत्यन्त भव्य टर्मिनल, विशाल रन वे, अत्याधुनिक सुरक्षा जाँच प्रविधि र उपकरण भएको अत्यन्त व्यवस्थित विश्वको एक अनुपम नमूना जस्तो लाग्थ्यो त्यो विमानस्थल।
हाम्रो योजना अनुसार हामी एक दिन न्युयोर्कमै बस्नुपर्ने थियो। हामीमध्ये कति साथीहरूका आफन्तहरू न्युयोर्कमै हुनुहुन्थ्यो र उहाँहरूलाई आफन्तहरूले एयरपोर्टबाटै सँगै लिएर जानुभयो भने मलगायतका केही साथीहरू होटलमा बस्यौं। भोलिपल्ट हाइटीको प्रस्थान गर्नुअघि केही समय बाँकी रहेकाले त्यहाँका केही प्रसिद्ध स्थानहरू घुम्यौं।
त्यहाँका अत्यन्त प्रख्यात ठाउँहरूमध्ये मैनहट्टन ब्रिजमा गयौं, विशाल इष्ट नदीमाथि बनेको मैनहट्टन ब्रिज साँच्चै नै दर्शनीय थियो, डिसेम्बर ३१,१९०९ मा सार्वजनिक रूपले खुला गरिएको ६ हजार ८ सय ५५ फिट लामो यो पुल उत्कृष्ट प्रविधि र कारिगरीको नमूना थियो। त्यहीँ नदीको किनारामा बसेर हामीले न्युयोर्कका केही मनोरम दृष्य कैद गर्यौं। त्यसपछि त्यहाँको प्रमुख व्यापारिक, पर्यटकीय र मनोरन्जनको केन्द्र टाइम्स स्क्वायर गयौं।
विभिन्न व्लकहरूमा विभाजित अत्यन्त व्यवस्थित र सफा हरेक बस्तीहरूमा चौडा सडक पुगेको र मनग्य ताल(तलैया समेत भएको विश्वको प्रसिद्ध व्यापारिक सहर न्युयोर्क वास्तव मै भव्य रहेछ।
घुम्ने क्रममा हामीले सन् २००९ मा आतंककारी संगठन अलकायदाले ध्वस्त पारेको टुइन टावर पुग्यौं। लिबर्टी आइल्याण्डमा रहेको स्ट्याचु अफ लिबर्टी अत्यन्त भव्य थियो। छोटो समयमै न्युयोर्क घुमाइको राम्रैसँग मज्जा लियौं।




