चैनपुर, संखुवासभाको चैनपुरमा करिब ४ सय ७५ घरधुरी लाभाम्वित हुने लिफ्ट सिस्टमको खानेपानी आयोजना सुरु भएको छ । चैनपुर नगरपालिका वडा नं. १० अन्तरगत कल्लेरी, सल्लेरी र खराङ बजारका स्थानीयलाई लक्षित गरी आयोजना सुरु गरिएको हो । उक्त स्थानका लागि पिलुवा खोलाबाट लिप्ट सिस्टममा खानेपानी पुर्याइने छ । आयोजनाको सर्वे डिटेल ईन्जिनियरिङ डिजाईन तयार गरी काम गघि बढाइएको हो ।
यु डब्ल्यु एस नेपालको ३५ लाख, चैनपुर नगरपालिकाको २० लाख र नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको अनुदान रकम १५ लाख सहित ७० लाखको लागतमा आयोजना सम्पन्न हुनेछ । ३ तहमा लिफ्ट गरी आयोजना सम्पन्न हुने छ। यो आयोजनाले यस क्षेत्रको सिंचाई, खानेपानी समस्याको समाधान गर्ने मेयर भरत कुमार खत्रीले विश्वास व्यक्त गरे । आयोजना निर्माण सम्पन्न पश्चात ४ सय ७५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने र बृहत परियोजनाले ईखुम्बा, झिलीमिले, सल्लेरी र खराङ्गको जिबनस्तर उकास्न महत्त्वपूर्ण भुमिका खेल्ने वडा नं. १० का वडा अध्यक्ष तेज बहादुर कटुवालले जानकारी दिए ।
आफूले निर्वाचनको समयमा गरेको विकासको प्रतिवद्वता अनुरूप यो आयोजना सञ्चालन गरिएको कटुवालले बताए । वडाको विकासमा कुनै कसर बाँकी नराख्ने समेत उनले बताए । खासगरी पानीको जोहो गर्न वालवालिका विद्यालयमा अनुपस्थित हुने गरेकाले उक्र समस्याको दिगो समाधानको निमित्त खानेपानी आयोजना अगाडी बढाईएको यु डब्ल्यू एसका प्रमुख सूर्य कार्कीले बताए ।
साथै यस आयोजनालाई आवश्यकता अनुरूप अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने कार्कीले बताए । कार्कि हाल, सामाजिक विकास मन्त्रालयको प्रदेश १ को बिद्यालय शिक्षाको शैक्षिक सुधार समिति अन्तर्गत निर्देशन समितिको सदस्यमा रहि गुणस्तरीय शिक्षाका निमित्त शैक्षिक अभियान्ताको रुपमा काम गरि रहेका छन्।