विश्वको पाँचौ अग्लो शिखर मकालु हिमालको काखमा रहेको संखुवासभा प्रदेश नं. १ को सुन्दर हिमाली जिल्ला हो । प्राकृतिक सुन्दरताको चिनारी बोकेको संखुवासभाजिल्लालाई संघीय संरचना अनुसार १० स्थानीय तहमा कायम गरिएको छ । जसमध्ये पाँचखपन नगरपालिका एक सुन्दर नगरपालिका हो । विभिन्न कालखण्ड, समयकालिन परिवर्तन, धार्मिक किम्बदन्ती र ऐतिहासिक अभिलेखहरुमा उल्लेख गरिएका निमन गडी, सिद्धी ढुंगा, नागेश्वर महादेव गुफा, हनुमान बेणी यसैनगरपालिकामा अवस्थित छ ।

नेपालको पुरानो प्रशासनिक विभाजनअनुसार पूर्वाञ्चल विकास क्षेत्र कोशी अञ्चलको संखुवासभामा पर्ने पाँचखपन नगरपालिका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्र हो । पाँचखपन नामको बारेमा ऐतिहासिक विभिन्न अभिलेख अनुसार सन् १२०० तिर यहाँ खपुवान राज्य सञ्चालनमा रहेको पाइन्छ ।उक्त राज्य पाँच जनाले संयुक्त रुपमा सञ्चालन गरिएकोले पाँच खपुवान राज्य भन्ने गरिन्थ्यो । पछी पाँच खपुवान शब्द अपभ्रंश भई पाँचखपन रहन गएको भन्ने भनाई छ । यहीँ नाम अनुसार २०७३ फागुन २७ गते नगरपालिका घोषणा गरिएको हो ।साबिक स्याबुन, वाना र जलजला गाउँ विकास समितिको सम्मिलनबाट बनेको पाँचखपन नगरपालिका १ सय ४८.०३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।यो नगरपालिकाकोउत्तरमा सभापोखरीगाउँपालिका, पश्चिममा खाँदबारी नगरपालिका, दक्षिणमा चैनपुरनगरपालिकार पूर्वमा चैनपुर नगरपालिका र ताप्लेजुङ जिल्लाअवस्थित छ ।यस नगरपालिकाको पश्चिममा सभा खोला र दक्षिण–पुर्वमा हेँवा खोला सिमा भएर बगेका छन् ।

२०६८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार यस नगरपालिकाको जनसंख्या १७ हजार ५ सय २१ रहेको छ ।जसमा ४६.४८ प्रतिशत पुरुष तथा ५३.५२ प्रतिशत महिलाको संख्या रहेको छ ।

समुन्द्री सतहबाट ८३२ मिटर देखि ३०२८ मिटर उचाईसम्म अवस्थित यस नगरपालिकामा उच्च पहाडी तथा समथर भूभाग रहेको छ । ९०.८७ प्रतिशत वनजंगलले ढाकेको यहाँको भुभाग ३२.८२ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । सभा, हेँवा, कुसुवा, खेकुवा, याङ्गुवा खोला र आसपासका खोल्सीहरुले सिंचित यहाँको भुभाग उत्पादनको हिसाबले उर्वर मान्न सकिन्छ । तर परम्परागत कृषि प्रणाली अंगाली रहेका यहाँका किसानहरु यदाकदा बाहेक आधुनिक कृषि प्रणालीको विकल्पमापुग्न सकिरहेका छैनन् ।

३५ ओटा आधारभुत, ७ ओटा माध्यामिक र एक निजी विद्यालय सहित ४२ वटा शिक्षण संस्था रहेको पाँचखपन नगरपालिकामा ९७.०६ प्रतिशत मानिसहरु साक्षर छन् । साक्षरता प्रतिशतका आधारमा नै पाँचखपन नगरपालिकालाई २०७६/०९/२३ मा साक्षर नगरपालिका घोषणा गरि सकिएको छ ।

जलजले हिमालको काखमा अवस्थित पाँचखपन नगरपालिका मनोरम प्रकृतिले सिंगारेको जैबिक बिविधतायुक्त नगरपालिका हो ।यस नगरपालिकामा ९ वटा वडाहरु रहेका छन् । सडक र यातायातले जोडिएको पाँचखपनलाई तुम्लिङटार विमानस्थलले सुगम बनाएको छ ।

यसै नगरपालिकाको वडा नं. १ पर्यटकहरुको मुख्य गन्तव्य हो । यहाँ रहेको घोर्ले झरना प्रमुख पर्यटकीय स्थल बनिरहेको छ । पर्यटकको रोजाईमा पर्ने जिल्ला कै सुन्दर यो झरना कुसुवा खोलाबाट निर्मित छ । घोर्ले झरनाको संरक्षण र विकासका लागि घोर्ले झरना पर्यटन विकास केन्द्रले काम गरिरहेको छ ।

१९१ मिटर अग्लो यो झरना तीन तह भएर बगेको छ । धार्मिक आस्था जोडिएको यो झरनाको शिरमा पञ्चकन्या देवीको थान रहेको छ । नजिकै रहेको नागेश्वर महादेव गुफाको धार्मिक आस्था पनि यो झरनासँग जोडिएको छ । किम्बदन्ती अनुसार यो झरनामा महादेवले स्नान गरी नागेश्वर गुफामा गई बास बसेकोजन विश्वास छ ।

सिद्धि ढुंगा यसै वडाको अर्को धार्मिक पर्यटकीय स्थल हो । परापुर्वक कालमा देवताहरुले सभापोखरीमा सभा गरेर यस ठाउँमा सिद्धि गरिएको विश्वास गरिन्छ । सिद्धि ढुंगा उच्च स्थानमा रहेकाले यहाँबाट संखुवासभाका विभिन्न स्थान र भोजपुर, धनकुटा र तेह्रथुम जिल्लाका भूभागहरु देख्न सकिन्छ । यस ठाउँ वरपर १३ प्रजातिका लालीगुराँस, बहुमुल्य जडिबुटी, जीव जनावर देख्न सकिन्छ ।

देउराली पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकाको मिलनबिन्दु हो ।यहाँ देउराली भ्यु टावर निर्माणको प्रक्रियामा छ । यहाँबाट पाँचखपनका विभिन्न स्थान र सभापोखरी गाउँपालिकाको बाह्रबिसे लगायतका स्थानहरु दृष्यावलोकन गर्न सकिन्छ । यी पर्यटकीय स्थलहरुको विकाससंगै वडा नं. १ को विकासका लागि यहाँका जनप्रतिनिधिहरुको पहल तीब्र गतिमा अघि बढेको छ ।

वडा नं. २ साबिक स्याबुन गाउँ विकास समितिको केन्द्र रहेको स्थान हो । यस वडाको टाइगर चोक चर्चित छ । पहिले मानव बस्ती कम हुँदा यहाँ वरपर बाघले स्थानीयका घरपालुवा चौपाय सिकार गरेर दुख दिने गथ्र्यो रे । बाघले अत्यन्त दुख दिएपछि राई जातीका वैदाङहरुले बाघ मार्नका लागि यहाँ खोर बनाएका थिए । सिकार गर्न निस्किएका बाघ खोर भित्र बाख्रा देखे पछी त्यस खोरमा बाघ पस्दा थुनिएको भनाई छ । बाघ खोर नामले परिचित यो ठाउँ पछिल्लो समय स्व. नगेन्द्र दाहालले यसैलाई अंग्रेजी नाम दिएर टाइगर चोक बनाएका थिए । जुन नाम अहिले प्रचलित छ ।

मुख्यत याख्खा राई जातिको बसोबास रहेको वडा नं. २ मा उनीहरु लिम्बु जातीले जसरी नै च्याब्रुङ नाच नाच्ने चलन छ । यसै वडामा देवल पनि रहेको छ । पुरानो इतिहास बोकेको देवलको संरक्षणको लागि जिर्णोद्धार भइरहेको छ । बाला चतुर्दशीमा विशेष मेला लाग्ने यस स्थानमा अन्य समयमा समेत पुजाआजा गर्ने गरिन्छ ।

वडा नं. ३ लाई ऐतिहासिक स्थानको रुपमा लिन सकिन्छ । यस वडाको सिभुवा नेवार जातीको पुरानो बस्ती हो । सिभुवा नाम चाहीँ नेवार भन्दा पहिले याख्खा जातीको बसोबास भएकाले याख्खा भाषामाराखिएको हो । पछि नेवार समुदायले यस ठाउँलाई मुख्य थलोको रुपमा बस्दै आए ।१८९० तिर चैनपुर, धुलिखेल र अन्य स्थानबाट सिभुवामा नेवारहरु आएर बसोबास गरेका थिए । अहिलेको साँगुरी गढी भञ्ज्याङ (शानगढी) बाट चैनपुर हुँदै सिभुवाको बाटो तिब्बत तर्फ जाने प्रमुख मार्ग थियो ।

वि.सं. १९१४ मा धुलिखेलबाट कालुसिं नेवार व्यापारका क्रममा सिभुवा आएर बसेको पाइन्छ । उनका छोरा इन्द्रजितले वि.सं. १९६९ मा भिमसेनको देवल बनाई मुर्ती राखेको पाइन्छ । जुन भिमसेन मन्दिरको अहिले जिर्णोद्धार भइरहेको छ । त्यहीँ देवलमा राखिएको भिमसेन मुर्तीलाई पुजेर बलबिम्ती मागेर सिभुवामा लाखे नाचको सुरुवाती गरेका थिए । त्यसैले सिभुवाको लाखेको सुरुवाती १०६ वर्षअघि भएको भन्न सकिन्छ ।

यहाँ नजिकै गढी अवस्थित छ । विभिन्न अभिलेखहरुमा उल्लेख गरिए अनुसार वि.सं. १७५० तिर अंग्रेज र तिब्बतियनहरुले यस ठाउँको राज्य कब्जा गर्ने क्रममा यहाँका किरात राजाले यस स्थानमा गढी निर्माण गरेका थिए । यस गढीको अहिले पनि भग्नावशेष देख्न सकिन्छ । यस स्थानको संरक्षणका लागि अहिले पहल भइरहेको छ । यसै स्थानमा यलम्बर पार्क निर्माण गरिएको छ । किराँत राजा यलम्बरको भव्य शालिक राखिएको यलम्बर पार्क र गढीको ऐतिहासिकता एकै ठाउँमा जोड्ने कोसिश भइरहेको छ ।

नागेश्वर महादेव गुफा पाँचखपन नगरपालिकाको ऐतिहासिक तथा धार्मिक स्थल हो । माघे संक्रान्ति, ठूलो एकादशी र शिवरात्रीमा विशेष पुजा आराधना हुने यस गुफामा भत्तजनहरुको बाक्लो उपस्थिति हुने गरेको छ । यहाँ पुजा आराधना सकिएपछी यसै गुफाको शिर नाँगी डाँडामा मेला लाग्ने गर्दछ । वडा नं. १,३,७,८ र ९ नं. वडाको सिमाबिन्दु रहेको यस ठाउँ रमणीय स्थान हो ।

गुप्तेश्वर महादेव गुफाको नामले चर्चित वडा नं. ४ धार्मिक तथा फलाम खानीको रुपमा परिचित छ । धार्मिक तथा एतिहासिकताले भरिएको गुप्तेश्वर महादेव गुफा वडा नं. ४ को धार्मिक पर्यटकीय गन्तव्य हो ।यस गुफासँग सम्बन्ध जोडिएको राणाकालिन शिवालय मन्दिर पनि यहाँ अवस्थित छ । कलात्मक इटाद्धारा निर्मित शिवालय मन्दिरको अहिले भग्नावशेष मात्र देख्न सकिन्छ । तर सताब्दी पुरानो यस मन्दिरको हालसम्म संरक्षणका लागि कुनै किसिमको प्रयास भइरहेको पाइदैन । यस वरपर फलामको खानी भएकोले राणाकालिन समयमा यहाँ फालाम उत्खनन् गरिएको गहिरो खाडलहरु देख्न सकिन्छ ।

लिङलिङ बजारमा अवस्थित धनेश्वर मन्दिर निकै पुरानो संरचना मानिन्छ । १९९२ मा पुन्यमता न्यौपानेले आफ्नो श्रीमान्को नाममा यो मन्दिर निर्माण गरिएको बताइन्छ । धार्मिक, पर्यटकीय तथा भौतिक क्षेत्रको एकिकृत विकासका लागि यहाँका जनप्रतिनिधीहरुको पहल भईरहेको छ ।

वडा नं. ५ तामाङ समुदायको बाहुल्यता रहेको वडा हो । तामाङ समुदायले आफ्नो सांस्कृतिक तथा धार्मिक परम्परा जोगाउनका लागि ह्रेन्जेन गुम्बा निर्माण गरेका छन् । अन्य जातीको समेत बसोबास रहेको यस वडामा जातिय धार्मिक सहिष्णुताका लागि विभिन्न मठ मन्दिरहरुको समेत निर्माण गरिएको छ ।

चैनपुर–लिङलिङ–खाँदबारी सडकले मध्यबिन्दु बनाएर जोडेको वडा नं. ५ समृद्धीको शिखर चडिरहेको छ । यहाँ शिखरपुर भ्यूटावर र किरातेश्वर मन्दिर निर्माण भइरहेको छ । भ्युटावर र मन्दिर निर्माण सम्पन्न पश्चात शिखरपुर डाँडाको महत्व र आकर्षण चुलिने देखिन्छ ।

वडा नं. ६ पाँचखपन नगरपालिकाको केन्द्र रहेको वडा हो । वाना, भिरकुना लगायतका बजारहरुले शहरिया बानीको विकास भइरहेको छ । यसै वडाको ऐतिहासिक स्थल हो सुकलेश्वर महादेव मन्दिर । राजा मुकुन्द सेनको पालामा निर्माण गरिएको सुकलेश्वरको मन्दिर वि.सं. १९९० सालको महाभुकम्पले क्षति गरेको थियो । तदपश्चात् पुन निर्माण गरिएको मन्दिर रहेको छ ।

नगरपालिका कै स्तरीय एक मात्र वाना प्राथमिक स्वास्थ्य केन्द्रयसै वडामा अवस्थित छ । नगरबासीहरुको सेवामा केन्द्रित यस स्वास्थ्य केन्द्रबाट २४ सै घण्टा सेवा प्रदान भइरहेको छ । नेपाल बंगलादेश बैंकको शाखा रहेको वानामा अन्य वित्तिय संस्था र सहकारीहरुले यहाँको जीवनस्तर उकास्नमा ठूलै भुमिका रहेको छ ।

विभिन्न कालखण्ड परिवर्तनमा भएका युद्धकालको निमन गढीले परिचित वडा नं. ७ ऐतिहासिक क्षेत्रले भरिपुर्ण छ । युद्ध सञ्चालनताका गढी निर्माण गरिएको यस स्थानमा निमनगढी भ्युटावर निर्माण सुरु भएको छ । यस गढी नजिकै पाँचखपन नगरपालिकाको एक मात्र ऐतिहासिक बिहिबारे बजार रहेको छ । २०१५ सालमा रुद्रनाथ रेग्मीको अगुवाईमा बिहिबारे बजार सुरु गरिएको बताइन्छ ।साप्ताहिक रुपमा लाग्ने बिहिबारे बजारले कृषकहरुको आर्थिक समृद्धीमा सघाउ पु¥याएको छ भने स्थानीयहरुलाई उपभोग्य वस्तुहरु खरिदबिक्रिका लागि सहज भएको छ ।

जलकन्या देवीथान यस वडाको प्रमुख धार्मिक स्थान हो । वैशाखे पुर्णिमा र मंसिरे पुर्णिमामा पुजा गरिने यस ठाउँको विकासका लागि वडाले विषेश पहल थालेको छ ।

सन्तानेश्वर महादेव मन्दिर यस वडाको धार्मिक तथा ऐतिहासिक गहनाको रुपमा रहेको छ । सन्तान माग्दा पुरा हुने विश्वास रहेको यस स्थानमा मन्दिर निर्माण गरिएको छ ।

चैनपुर र पाँचखपन नगरपालिकालाई सिमाना लगाएको हेँवा खोला नजिक हनुमान वेणी यस वडाको अर्को महत्वपूर्ण स्थान हो । यहाँ गोलो, चिल्लो ढुंगा र गरुंगो ढुंगा रहेको छ । यहीँ ढुंगालाई हनुमाने ढुंगा भन्ने चलन रहेको छ ।

पाँचखपन नगरपालिकाको वडा नं. ९ विकट तर प्राकृतिक सौन्दर्यले सिर्जित छ । यहीँ सौन्दर्यताका कारण वडा नं. ९ का विभिन्न स्थान पर्यटकीय क्षेत्रको रुपमा अग्रणी छ । पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्य बनिरहेको साउने चुली यस वडाको पर्यटकीय मुख्य स्थान हो । यस वरपरका ओडारे चुली, मार्ग देवी, पोखरी डाँडा, विभिन्न नाम गरेका खर्कहरुले यस क्षेत्रमा अझ पर्यटकहरुलाई मोहित पार्ने गर्दछ । विभिन्न प्रजातीका जनावर, वनस्पति र जडिबुटी यस वडाको प्रमुख सम्पत्तिका रुपमा रहे पनि यिनीहरुको अध्ययन र अनुसन्धान अभावले लोप हुने अवस्थामा छ ।

उच्च पहाडले बनेको यस स्थानमा भिर मौरी र भिर गौंथलीको बासस्थानले पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । यसै वडाले छिमेकी जिल्ला ताप्लेजुङलाई समेत छोएको छ । कोणधारी जंगल रहेका यी उच्च स्थानमा चिसो बढेसंगै हिउँ खेल्ने पर्यटकहरुको आवतजावत सुरु हुन्छ । पर्यटकको पर्खाईमा रहेको यस वडाको तिर्तिरे झरना, साक्सिङ झरना र दार्मे झरना मुख्य झरनाहरु हुन् । यी झरनाहरु पर्यटकको व्यग्र प्रतिक्षामा भएपनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

यस वडाको चौरी खर्क लिम्बु समुदायको मुख्य बसोबास रहेको स्थान हो । लिम्बु जातीको पुख्र्यौली बसोबास रहेको चौँरी खर्कमा लिम्बु जातीको संस्कार अनुसार च्याब्रुङ नाच बढी नै प्रचलित छ । जातीय संस्कार अनुसार विशेष समारोहमा प्रस्तुत गरिने यो नाच लिम्बु जातीको मात्र नभई पर्यटकको समेत आकर्षण बढिरहेको छ । भौगोलिक रुपमा विकट भएपनि यस वडामा भइरहेका विकास निर्माणले यहाँको सम्भावना र समृद्धीको ढोका खुल्ने क्रममा रहेको छ ।

अन्न उत्पादनको हिसाबले उर्वर यहाँको भूमिमा युवा पलायन र शहर केन्द्रित बसाइसराई कम गर्न नगरपालिकाले विभिन्न किसिमका बाली उत्पादनका लागि कृषि पकेट क्षेत्रको रुपमा अघि बढाएको छ भने कृषि अनुदान समेत उपलब्ध गराईरहेको छ । यस नगरपालिकाले एक घर एक धारा कार्यक्रमका लागि पाँचखपन वृहत खानेपानी योजना अघि बढाइएको छ । यो योजना सम्पन्न पछी पाँचखपन नगरबासी स्वच्छ खानेपानीको पहुँचमा पुग्ने आशा राखिएको छ ।

मुलुक संघीयतामा गएपछी स्थानीय तहहरुको गठन भए पश्चात सिंहदरबारको अधिकार गाउँघरमा पुगेको छ । यसले स्थानीय जनताहरुमा उत्साह थपिएको छ । घरदैलोमा नै उपलब्ध हुने सेवा सुविधा सहित उनीहरुको चाहना र आकांक्षा पनि बढ्दै छन् । सुशासनलाई प्राथमिकतामा राख्दै सेवाग्राहीहरुलाई छिटो छरितो र पारदर्शी रुपमा सेवा प्रवाह गर्नमा पाँचखपन नगरपालिका कटिबद्ध छ ।

परिवर्तनको सुरुवात आफ्नै ठाउँबाट सुरु गर्नुपर्छ । जसका लागि हिजोका सकारात्मक कार्यहरुलाई निरन्तरता दिदै नयाँ योजनाहरुमा सामुहिक जनसहभागिता हुनु जरुरी हुन्छ । यहाँका बासिन्दाहरुको चाहना र आवश्यकतालाई पुरा गर्दै उनीहरुको विश्वास र भरोसालाई जित्नु जनप्रतिनिधिहरुको जिम्मेवारी र दायित्व हो ।

भौतिक पुर्वाधार विकासको मुल मेरुदण्ड हो । यसमा पनि सडकले ल्याउने परिवर्तनलाई नजर अन्दाज गर्न सकिदैन । चैनपुर–बाह्रबिसे र चैनपुर–खाँदबारी सडकले यस नगरपालिकालाई जिल्ला कै सदरमुकाम खाँदबारी र चैनपुर बजारलाई नजिक बनाएको छ । यसका साथै यस नगरपालिकाका सबै वडाहरुमा जोडिएको सडक सञ्जालले समृद्ध नगरपालिका निर्माणका लागि सहयोगी बनीरहेको छ । विकासप्रेमी जनप्रतिनिधि र कर्मठ यहाँका कर्मचारीहरुको लगनशिलतामा भौतिक, सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रको एकत्रित विकासले पाँचखपन नगरपालिका समृद्ध नगरपालिका निर्माण हुनेछ ।

धन्यवाद

तपाईको प्रतिक्रिया