काठमाडौं, एपीएफका दीपेश धामी र जेसिका गुरुङले प्रधानमन्त्री कप खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्। पुरुष एकलको खेलमा धामीले आफ्नै क्लबका प्रिन्स दाहाललाई २१–१९, २२–२० ले पराजित गर्दै उपाधि जितेका हुन्। केही समयअघि सिरहामा भएको १०औं पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिमा भने धामी प्रिन्ससँग पराजित भएका थिए।
चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको महिला एकलको खेलमा जेसिकाले त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनलाई पराजित गर्दै उपाधि जितेकी हुन्। निकै प्रतिस्पर्धात्मक खेलमा जेसिकाले २१–१८, १७–२१, २१–१७ को जित निकालिन्।
प्रतियोगिताका विजेताले नगद १ लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यस्तै दोस्रोले ५५ हजार र तेस्रो हुने खेलाडीले १५ हजार रुपैयाँप्राप्त गरे। पुरुष युगलतर्फ आर्मीका नवीन श्रेष्ठ र रत्नजित तामाङको जोडी पहिलो भयो। नवीन र रत्नको जोडीले एपीएफका दीपेश धामी र गौतम कठायतको जोडीलाई २१–११, २१–१५ ले पराजित गरे।