भोजपुर– असार १० भन्दा अगाडी स्थानीय तहहरुले आफ्नो बजेट निर्माण गरिसक्नु पर्ने व्यवस्था अनुसार सबै देशभरका स्थानीय तहहरुको निती तथा कार्यक्रम र बजेट सार्वजानिक भईरहेको छ । यहि क्रममा भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले पनि आर्थिक वर्ष २०८०÷०८१ को लागि आफ्नो निती तथा कार्यक्रम सहित बजेट पारित गर्दै १४ औं गाउँसभा सम्पन्न गरेको छ ।
आफ्नो निती तथा कार्यक्रममा पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर भौतिक पुर्वाधार सहितको विकासको खाका तयार गरेको छ । पालिकाको एउटा निती तथा कार्यक्रममा पालिकाको गौरवको योजना भनेर “दुध मिसन” समावेश भएको छ । यो भोजपुर जिल्ला भित्रको ९ वटा स्थानीय तहको भन्दा फरक निती तथा कार्यक्रम रहेको छ गाउँपालिका अध्यक्ष सरोज बस्नेत भन्छन् “गाउँपालिकामा उत्पादन भएको दुध बेचेर पालिकाको आर्थिक अवस्थालाई सुधार्ने योजनाले यो कार्यक्रम निर्माण गरिएको हो” ।
अध्यक्ष भन्छन यस पालिकामा उत्पादन हुने दुधले पालिकाको आर्थिक अवस्था माथि उठ्छ । वडा वडामा दुध उत्पादन गर्ने कृषक तथा व्यक्ति पहिचान गरिन्छ त्यहि अनुसार वडा वडामा दुध संकलन केन्द्रको स्थापना गरिने छ । र पालिकामा मुख्य एउटा केन्द्रको स्थापना गरि दुध संस्थान संगको सहकार्यमा दुध मिसन कार्यक्रमलाई अगाडी बढाईने छ । दुध मिसनको लागि पालिकाले चिलिङ सेन्टर, दुध डेरिको स्थापना गर्ने पालिकाले जनाएको छ ।
यस दुध मिसनको लागि केन्द्र सरकारबाट २० लाख, प्रदेश सरकारबाट १५ लाख र गाउँपालिकाबाट ३० लाख गरि यो बर्षलाई ६५ लाखको कार्यक्रम बनेको छ । आगमी बर्षमा बजेट थप गर्दै यस दुध मिसनलाई दिगो बनाई गाउँपालिका वासीको आर्थिक अवस्था माथि उठाउँदै गाउँपालिकाको समग्र विकासको लागि दिगो योजनाको निर्माण गर्ने पालिका अध्यक्ष बस्नेत बताउँछन् ।