भोजपुर–साल्पा सिलिछो गाउँपालिकाले आफ्नै बजेटमा मोटोरेबल पुल र प्रशासनिक भवन निर्माण गर्ने भएको छ । आर्थिक बर्ष २०८०÷०८१ को बजेटबाट पालिकाले याक्सा नागदह मोटोरेबल पुल र पालिकाको प्रशासनिक भवनको निर्माण गर्ने भएको छ ।
पालिकाको वडा नं. ५ र ६ लाई पालिका संग जोड्ने मुख्य सडकमा उक्त पुल निर्माण गरिनेछ । हाल उक्त सडकमा पक्कि पुल नहुँदा वडा नं. ५ र वडा नं. ६ बाट यातायातको माध्यमबाट पालिका आवज जावत गर्न समस्या भोग्दै आईरहेको छ । पुल निर्माण भएपछि दुईवटा वडाका वासिन्दाहरुलाई यातायातको सुविधामा सहज हुने गाउँपालिका अध्यक्ष दौलत कुलुङले बताए ।
आर्थिक बर्ष २०८०÷०८१ को पालिकाको रु २ करोड बजेटबाट पुल निर्माण हुने भएको छ । साथै पालिकाको रु १ करोड बजेटबाट पालिकाको प्रशासनिक भवन समेत निर्माण हुने भएको छ । आर्थिक बर्ष २०७९÷८० को बजेटमा पनि बजेट विनियोजन भएको थियो तर विभिन्न समस्याले पुल निर्माण हुन सकेन यस बर्ष यो पुल २ करोड लागतमा निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत माधव कुमार अधिकारीले जानकारी दिए ।
यो पक्कि पुल निर्माण हुँदा साल्पासिलिछो गाउँपालिकाको वडा नंं ५ र ६ साथै षडानन्द नगरपालिकाको वडा नं. २ लाई समेत लाभान्वित हुने छ ।