भोजपुर– १६ बर्ष मुनिको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी विवादास्पद गोलका कारण जनचेतना फुटबल क्लबले जितेको छ । षडानन्द नगरपालिका वडा नं.७ वडा खेलकुद विकास समितिको आयोजना तथा षडानन्द नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको उपाधी जनचेतना क्लबले हात पारेको छ ।

फाईनल खेलको हाफ टाईमसम्म १–१ गोल भएको खेलमा हाफ टाईम पछिको १४ औं मिनेटमा जनचेतना फुटबल क्लबको तर्फबाट हेडिङ मार्फत गरेको गोल विवादित भएपछि खेलमा विवाद भएको थियो । विवाद पछि चन्द्र सुर्य माविले रेफ्रीले दिएको निर्णय चित्त बुझ्ने नभएको भन्दै खेलबाट बाहिरिएको थियो । १४ औं मिनेटमा भएको गोल अफसाईड गोल रहेको र त्यो मान्य नहुने भन्दै खेलाडी मैदान प्रवेश नगरेपछि आयोजकले जनचेतना प्रथम र चन्द्र सुर्य मावि द्धितीय भएको घोषणा गर्दै खेल समापन भएको हो ।

कार्यक्रम वडा खेलकुद विकास समिति षडानन्द–७ को आयोजनामा तथा नगरपालिकाको प्रायोजनमा र षडानन्द मा.वि., अरुण मा.वि र वडा खेलकुद विकास समिति षडानन्द–६ को सह–आयोजनामा खेल आयोजना भएको थियो । प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि षडानन्द नगरपालिकाका नगरप्रमुख सुरेन्द्र कुमार उदास रहेका थिए भने नगरपालिकाकी उप–प्रमुख प्रमिला राई विशेष अतिथि रहेका थिए ।

प्रतियोगितामा आधिकारीक रेफ्री नभई स्थानीय रेफ्रीहरु भएको कारण खेल निश्पक्ष नभएकोले आफुहरु नखेलेको चन्द्रसुर्य माविका खेलाडीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया