काठमान्डौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामको लागि गरिएको लकडाउनको कारण समस्यामा परेका संखुवासभालीलाई राहत वितरण गरिएको छ । संखुवासभा घर भई काठमाडौंमा बसोबास गर्दै आएका तथा आर्थिक अभाव भएका विद्यार्थी तथा श्रमिकहरुलाई संखुवासभा–काठमान्डौ सेवा समाजले राहत वितरण गरेको हो ।
समाजले लकडाउनका कारण समस्या भएका विद्यार्थी तथा श्रमिकहरुलाई चामल, दाल र तेल वितरण गरेको हो। आर्थिक रुपमा समस्यामा परेकाहरुको पहिचान गरी पहिलो चरणमा २ सय परिवारलाई राहत वितरण सुरु गरिएको समाजका अध्यक्ष जीवन राईले बताए ।
समाजले प्रत्येक परिवारलाई एक बोरा चामल, दाल, तेल र नुन वितरण गरेको हो । अध्यक्ष राईका अनुसार बिहीबार काठमाडौंको कपन, चावहिल, जोरपाटी र मैतीदेवी क्षेत्रमा बसोबास गर्दै आएका संखुवासभालीलाई सहयोग वितरण गरिएको छ ।