भोजपुर — भोजपुर र संखुवासभाको तुम्लिङटार जोड्ने सतिघाटमा रहेको अरुण नदीको ‘फेरी’ झन्डै एक महिना पछि संचालनमा आएको छ । लट्ठा घुमाउने पुल्ली र तारमा समस्या देखिएपछि गत चैत १६ गतेदेखि फेरी बन्द भएको थियो ।

षडानन्द नगरपालिका र काठमाडौंबाट आएको प्राविधिक टोलीले फेरी मर्मत गरेर पुनः संचालनमा ल्याएको षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताएका छन् । फेरी मर्मतपछि उत्तरी क्षेत्रबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बिहीबार दिउँसोबाट संचालनमा आएका छन् ।

अरुण नदिको बहावले भोजपुरको षडानन्द नगरपालिका क्षेत्रमा पट्टिको किनारमा बालुवा जमेको कारणले तुरुन्तै ठूला मालवाहक सवारीसाधन ओसारपसारमा भने केही कठिनाइ हुने कार्यकारी अधिकृत चापागाईंले बताए । फेरीको मर्मत कार्य लक्ष्मी निर्माण सेवाले भ्याट सहित ८ लाख ४९ हजारमा सम्पन्न गरेको हो ।

विभिन्न ठाउँबाट फेरी चल्ने सुचना पाएर आएको यातायातको चापलाई मध्यनजर गरि बालुवा हटाउने काम भईरहेको छ । बालुवा हटाईसकेपछि फेरीबाट साना ठुला यात्रु बहाक तथा ठुला माल बहाक लगायतका सवारी साधन ओसारपसार गर्ने तयारी भईरहेको षडानन्द नगरपालिका नगर प्रमुख उदासले बताएका छन् ।

तपाईको प्रतिक्रिया